चितवन, ९ असोज । नेपाली कांग्रेस चितवनका युवा नेता दीपक दवाडीले चितवन क्षेत्र नं। ३ (ख) को प्रदेश सभा सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेश सभा सभापति पदका लागि शनिबार मनोनयन दर्ता हुँदैछ भने मतदान आइतबार हुने कार्यक्रम छ ।
भरतपुर महानगरपालिका–२३ का वडाध्यक्षसमेत रहनुभएका दवाडीले विद्यालय जीवनदेखि नै नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को राजनीतिमार्फत पार्टी राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँले प्रदेश सभा सभापतिको उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिभन्दा संगठनलाई व्यवस्थित, सक्रिय, पारदर्शी, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धताका रूपमा अघि सार्नुभएको छ ।
दवाडीका अनुसार उहाँको प्राथमिकता ठूलो आश्वासनभन्दा व्यवस्थित काम, निरन्तर संवाद र परिणाममुखी कार्यशैलीमा हुनेछ । समस्या सुन्ने, तथ्य बुझ्ने, सम्बन्धित पक्षसँग समन्वय गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने उहाँको भनाइ छ ।
“प्रदेश सभा सभापतिको जिम्मेवारीलाई व्यक्तिगत प्रतिष्ठाको विषय नभई संगठन र कार्यकर्ताप्रतिको जिम्मेवारीका रूपमा ग्रहण गर्नेछु,” उहाँले भन्नुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनलाई संगठनमा नयाँ ऊर्जा, सोच र कार्यशैली विकास गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै दवाडीले नेतृत्व चयनसँगै सुदृढ संगठन, सक्षम कार्यकर्ता, जिम्मेवार नेतृत्व र जनतासँगको सम्बन्धलाई बलियो बनाउने अभियान आवश्यक रहेको बताउनुभएको छ । उहाँले प्रतिनिधिहरूको विवेक, मूल्याङ्कन र निर्णयका आधारमा आफूले अमूल्य मतको अपेक्षा गरेको उल्लेख गर्नुभएको छ ।
बीपीको प्रभावदेखि जनताको सेवासम्मको राजनीतिक यात्रा
दवाडी विद्यालय जीवनदेखि नै नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को राजनीतिमार्फत पार्टी राजनीतिमा होमिनुभएको हो । जनताको समस्यामा हरदम समर्पित भएर लाग्ने स्वभावकै कारण उहाँले आफ्नो क्षेत्रका जनताबीच लोकप्रिय युवा नेताको छवि बनाउन सफल हुनुभएको छ ।
आफ्नो वडाको विकास निर्माणका अलावा, मध्यवर्ती क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर आउने वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षति र किसानका खेतीबालीमा हुने क्षतिबापत नागरिकलाई क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा पनि दवाडीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी मानव र वन्यजन्तु दुवैलाई सहज रूपमा बाँच्ने अवस्था सिर्जना गर्न स्थानीय नेतृत्व र जनप्रतिनिधिका रूपमा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । पश्चिम चितवनमा वन्यजन्तुबाट घाइते भएकाहरूको उपचारका लागि ट्रमा अस्पताल बनाउने अभियानमा पनि उहाँ निरन्तर लागिरहनुभएको छ ।
गत असार २१ गते जङ्गली हात्ती ‘ध्रुवे’ले जगतपुर बेलहट्टा निवासी २१ वर्षीय आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई घरमा सुतिरहेको अवस्थामा राति हत्या गरेको घटनाले सारा नेपालीलाई स्तब्ध बनायो । उक्त घटनामा पीडित परिवारलाई न्यायका लागि वडाध्यक्ष दीपक दवाडीले गरेको संघर्षको नेतृत्व सम्झनायोग्य छ । उहाँको नेतृत्वमा स्थानीयले गरेको संघर्षका कारण सङ्घीय सरकारका मन्त्रीदेखि सरोकारवाला निकायका प्रमुख अधिकारीहरूसमेत जगतपुर पुग्न र पीडित परिवारलाई तत्काल राहत तथा क्षतिपूर्तिका लागि क्रियाशील हुन बाध्य भएका थिए । यसले पनि स्थानीय क्षेत्र र जनताका समस्या बुझेको नेतृत्वको महत्त्व कति हुन्छ भन्ने सन्देश दिएको थियो ।
उहाँको परिवार आफैँमा पनि वन्यजन्तुको आक्रमणबाट पीडित परिवार हो । उहाँकी हजुरआमालाई घरमै आएर गैंडाले आक्रमण गर्दा जीवनभर अपाङ्ग जीवन बाँच्नुपरेको थियो । त्यही पीडाका कारण उहाँले असमयमै जीवन गुमाउनुभएको थियो ।
विशेषगरी पर्यटन विकास, कृषि क्षेत्रको आधुनिकीकरण तथा शिक्षा क्षेत्रको विकासले नै चितवनलाई समृद्ध बनाउन सक्ने अवधारणालाई आत्मसात् गरी आफूले काम गरिरहेको उहाँ बताउनुहुन्छ । त्यसैगरी, खेलकुद क्षेत्रको विकास, रोजगारी तथा स्वरोजगारीको सिर्जना, आदिवासी, जनजाति, महिला तथा बालबालिकाकेन्द्रित कार्यक्रममा आफूले विशेष जोड दिँदै आएको उहाँ बताउनुहुन्छ । भरतपुर वडा नम्बर २३मा सुत्केरीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा तथा बालबालिकाका लागि शुक्रबार विशेष कक्षाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
उहाँले वडाध्यक्ष भएपछि पश्चिम चितवनमा यहाँका अल्पसंख्यक तथा सीमान्तकृत वर्ग ९बोटे, माझी, मुसहर, चेपाङ, दराई समुदाय०का लागि विशेष आवासीय विद्यालय सञ्चालन गर्न संघीय सरकारमा विशेष प्रस्ताव पेस गर्नुभएको थियो । सरकारले हाल पूर्वी चितवनको कोराकमा चेपाङ समुदायका लागि विशेष विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरे पनि सञ्चालनमा ल्याएको छैन । आफ्नो अवधारणाअनुसारको विशेष आवासीय विद्यालय पश्चिम चितवनमा सञ्चालन गर्न सकिए चितवनका सबै अल्पसंख्यक समुदायका बालबालिकालाई समेट्न सकिने उहाँको अवधारणा र निरन्तरको पहल रहेको छ ।
स्थानीयस्तरको विकासले मात्रै समृद्ध देश निर्माण गर्न सकिन्छ भन्ने बृहत् राजनीतिक सोच र चेतका कारण उहाँ आफ्नै उमेरका धेरै साथीहरू विदेश जाँदा पनि यहीँ बसेर देशका लागि केही गर्नुपर्छ भन्ने सोच र उद्देश्यले राजनीतिमा क्रियाशील भएको बताउनुहुन्छ ।
जगतपुरको धुरुबघाट हुँदै चितवन निकुञ्जभित्रबाट माडी जानका लागि निर्माण गर्न लागिएको सडक निर्माणका लागि सुरुदेखि नै आफू विशेष महत्त्वका साथ लागेको र इआइए तथा नागरिक सुनुवाइसमेत भएर अब ठेक्काको चरणमा जान लागेको विषयले आफूलाई निकै गर्व र खुसी लागेको पनि उहाँ बताउनुहुन्छ । उक्त सडक निर्माण भएपछि निकुञ्जभित्र वन्यजन्तुबाट हुनसक्ने क्षतिको जोखिम पनि कम हुने र माडीका बासिन्दा तथा उक्त बाटो आवतजावत गर्ने सबैका लागि ठूलो राहत पुग्ने भएकाले उक्त बाटो निर्माणका लागि आफूहरूको निकै जोड रहँदै आएको पनि उहाँको भनाइ छ ।
पारिवारिक राजनीतिक पृष्ठभूमि, विद्यार्थी जीवनमै बीपी कोइरालाको समाजवादको सिद्धान्तले पारेको गहिरो प्रभाव, त्यसकै प्रभावमा विद्यार्थी जीवनदेखि राजनीतिमा लागेर देशको समृद्धिका लागि गरेको परिकल्पना तथा दुःखी–गरिब जनताका पीडाले आफूलाई राजनीतिमा क्रियाशील बनाइरहन हरदम घच्घच्याइरहने गरेको बताउँदा युवा नेता दवाडी गम्भीर बन्नुहुन्छ । शैक्षिक क्षेत्रसँगको आफ्नो आबद्धतालाई कायमै राख्दै बीपी कोइरालाले परिकल्पना गरेको समाजवादको लक्ष्य पूरा गर्न आफू राजनीतिमै क्रियाशील हुने उहाँको योजना छ ।
जनताका समस्या, विकास निर्माणका स्थानीय विषयवस्तु बुझ्ने क्षमता, प्रतिबद्धता, निरन्तरको लगाव र अध्ययनजस्ता विषयले आफूलाई युवा नेतृत्वमा अझ स्पष्ट र बलियो बनाउने विषयमा उहाँ सचेत हुनुहुन्छ ।
भरतपुर–२३, बेलहट्टा, जगतपुर निवासी ३८ वर्षीय दवाडीले व्यवस्थापन विषयमा मास्टर्स डिग्री ९स्नातकोत्तर० उत्तीर्ण गर्नुभएको छ । वडाध्यक्ष निर्वाचित हुनुअघि उहाँ शिक्षा क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । पश्चिम चितवन क्षेत्रमा नेपाली कांग्रेसको राजनीतिक विरासतमा उहाँको सिङ्गो परिवारको महत्त्वपूर्ण योगदान रहिआएको छ ।


