लमजुङमा ११६ मिलिमिटरभन्दा बढी वर्षा, आज पनि भारी वर्षाको सम्भावना

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङमा धेरै भारी वर्षा भएको छ भने कास्की, सिन्धुपाल्चोक, काठमाडौंलगायतका जिल्लामा भारी वर्षा भएको छ ।

महाशाखाका अनुसार लमजुङको फलेनीमा ११६.२ मिलिमिटर र भुजुङमा ९१.४ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीको याङ्जाकोटमा ९३.२ र सिकलेसमा ८३.४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, सिन्धुपाल्चोकको ढुंगे र काठमाडौंको सुन्दरीजलमा ८९.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत, रुकुमपश्चिम, दैलेख, मकवानपुर र खोटाङलगायतका जिल्लामा पनि भारी वर्षा भएको छ ।

महाशाखाका अनुसार १० देखि ५० मिलिमिटरसम्म वर्षा हुँदा मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी र १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुँदा धेरै भारी वर्षा मानिन्छ । २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ ।

यसैबीच, आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

शेयर गरौ

ताजा अपडेट