भरतपुर ।
पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा सिकाइलाई मुख्य उद्देश्य बनाएर स्पेनको रूटा इन्टरनेशनलमार्फत १९९ जना युवाको टोली चितवनको पर्यटकीय गन्तव्य पटिहानी आइपुगेको छ ।
शनिबार पटिहानी पुगेको १८ देखि २५ वर्ष उमेर समूहका युवाहरूको टोली तीन रात चार दिनको बसाइँपछि मंगलबार लमजुङ प्रस्थान गर्ने भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो । टोलीमा आधाभन्दा बढी महिला सहभागी छन् ।
वडाध्यक्ष महतोका अनुसार टोलीले पटिहानीमा रहँदा स्थानीय पर्यटकीय क्षेत्रको अवलोकन गर्नुका साथै विद्यार्थी र स्थानीय समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । नेपालमा २५ दिन रहने यस टोलीले यसअघि भक्तपुरको भ्रमण तथा स्थानीय समुदायसँग संवाद गरिसकेको छ ।
टोलीमा प्राज्ञिक तथा विभिन्न अध्ययन–अनुसन्धानसँग सम्बन्धित युवा सहभागी रहेका वडाध्यक्ष महतोले बताउनुभयो । टोलीको स्थानीय समन्वयका लागि अनुरोध गरिएकाले वडाले आवश्यक सहजीकरण र सहयोग गरिरहेको उहाँको भनाइ छ ।

स्पेनका युवाहरूको यस भ्रमणले पटिहानीसहित समग्र पश्चिम चितवनको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै वडाध्यक्ष महतोले यस्ता अन्तर्राष्ट्रिय भ्रमणले स्थानीय पर्यटनलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

