चितवन ।
विद्युतीय सवारी साधनको प्रयोगसंगै चितवनमा चार्जिङ स्टेशन खुल्ने क्रम वृद्धि भएको छ । केही वर्ष अगाडिमात्र सरकारी र निजी गरी चारवटा स्टेशन रहेको जिल्लामा अहिले ३१ वटा भन्दा धेरै स्थानमा व्यवसायिक रुपमा सञ्चालन भइराखेको छ ।
सुरुवातमा भरतपुरको केन्द्रीय वसपार्कमा चार वटा सवारी साधनले एकै पटक चार्ज गर्न सक्ने गरी स्थापना गरिएको थियो । प्राधिकरणले राखेको यो स्टेशन व्यवसायिक रुपमा धेरै चार्ज हुने यो एउटा मात्र सञ्चालनमा रहेको थियो । त्यस्तै गरी प्राधिकरणले नै चितवनकै मुग्लिनमा अर्को चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो । यहाँबाट एक पटकमा दुइ वटा साधनले चार्ज गर्न सक्ने व्यवस्था रहेको थियो ।
विद्युतीय सवारी साधनको प्रयोग वढ्न थालेपछि प्राधिकरणले भरतपुर वसपार्कमा अहिले चार्ज गर्ने वुथ थपेर एकै पटक १२ वटाले चार्ज गर्न सक्ने व्यवस्था मिलाएको छ । यो जिल्लाको सवैभन्दा धेरै चार्ज गर्न सक्ने स्टेशन हो । यो बाहेक जिल्लामा सर्वसाधारणले आफ्नो सवारी साधन ल्याएर चार्ज गर्न पाउने गरी निजी स्तरबाट व्यवसायिक रुपमा विभिन्न स्थानमा गरी ३१ वटा स्टेशन सञ्चालनमा आएको छ ।
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर मिलन सापकोटाले प्राधिकरणको तर्फबाट दुइ स्थानमा र निजीले व्यवसायिक रुपमा ३१ वटा स्थानमा स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार यो बाहेक होटल, रेष्टुरेन्टहरुमा आफ्नो ग्राहकलाई सेवा दिनेगरी चार्जिङ गर्नेहरु धेरै रहेका छन् । पछिल्लो समय साझा सहकारी सस्थाले भरतपुरको वाइपास सडकमा ४ वटा प्यालनबाट एकै पटक ८ वटा सवारी साधनले चार्ज गर्न मिल्ने गरी सञ्चालनको तयारी गरेको उहाले बताउनुभयो ।
साझाले राखेको क्षमता जिल्लाको सवैभन्दा उच्च रहेको इन्जिनियर सापकोटाले बताउनुभयो । साझामा ६३० केवीए क्षमताको स्टेशन राखिएको छ । यहाँबाट छिटो चार्जिङ हुनसक्छ । यसपछि प्राधिकरणले राखेको भरतपुर वसपार्कको स्टेशनको क्षमता ५ सय केवीए रहेको छ । प्राधिकरणले सहुलियतको दरमा चार्ज गर्न पाउने व्यवस्था गरेको छ भने निजी स्तरबाट सञ्चालनमा रहेका चार्जिङ स्टेशनले भने केही रुपियाँ वृद्धि गराएर चार्ज गर्न सक्ने व्यवस्था गरेको छ ।
विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएपछि प्राधिकरणले नारायणगढ मुग्लिन सडकखण्डको रामनगर क्षेत्रमा धेरै सङख्यामा चार्जिङ स्टेशन राख्ने चर्चा चलेपनि अहिले त्यो सेवा सञ्चालनको तयारी नभएको इन्जिनियर सापकोटाले बताउनुभयो ।
अहिले भइराखेको स्टेशनले वढ्दो विद्युतीय सवारी साधनको प्रयोगको मागलाई धान्न नसकेको सवारी चालकको भनाइ छ । चितवनको ग्रामिण क्षेत्रदेखि सहरी ठाउबाट सार्वजनिक सवारी साधन विद्युतीय यातायात प्रयोगमा आएको छ । यी साधनको लागि जिल्लाको धेरै स्थानमा प्राधिकरणले चार्जिङ स्टेशन राख्नु पर्ने विरगञ्ज नारायणगढ चल्दै आएको माइक्रो चालक विवेक मण्डल बताउनु हुन्छ । भरतपुरबाट विरगञ्ज, जनकपुर, काठमाडौं, पोखरा, पश्चिम नेपाललगायत विभिन्न स्थानमा दर्जनौ विद्युतीय साधन चल्दै आएको छ । ती साधनले वसपार्कमा चार्जको लागि जाँदा भिड भएर पालो पाउन मुस्किल हुने गरेको बताएका छन् । निजी स्तरले सञ्चालनमा ल्याएका स्थानमा समेत चाप हुने भएकाले थप स्टेशन राख्नु पर्ने उनीहरुको माग छ ।
चार्जिङ स्टेशन पूर्वाधार आयोजनाका पूर्व प्रमुख सागर ज्ञवालीले प्राधिकरणले अहिले कतैपनि स्टेशन राख्ने तयारी नगरेको जानकारी दिनुभयो । व्यवसायिक रुपमा निजीले राखेको र व्यक्तिगत रुपमा घरघरमा चार्जको व्यवस्था भएकाले प्राधिकरणले राख्ने तयारी नगरेको उहाले बताउनुभयो ।
अटो मोवाइल डिलर एसोसियसन चितवनका निवर्तमान अध्यक्ष राजन पियाले चितवन जिल्लामा मात्रै निजी विद्युतीय सवारी साधन तीन हजार भन्दा धेरै भएको बताउनुभयो । जिल्लाबाट हरेक वर्ष ९ सय भन्दा धेरै विद्युतीय सवारी साधन विक्री हुने गरेको सस्थामा रेकर्ड रहेको उहाँको भनाइ छ । निजी बाहेक सार्वजनिक सवारी साधन समेत जिल्लामा विद्युतीय गाडी धेरै रहेको पियाले बताउनुभयो ।
चितवन भएर पूर्व पश्चिम महेन्द्र राजमार्ग र नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक २० हजार भन्दा धेरै सवारी साधन चल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यी सवारी साधन मध्य विद्युतीय सवारी साधन के कती सङख्यामा गुड्छ भन्ने विवरण नराखेपनि विगतको भन्दा अहिले गुड्ने सङख्या वृद्धि हुदै गएको कार्यालयले जानकारी दिएको छ ।


