रोजगारदाताको भर विना सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदै तरकारी मण्डीका मजदुर

शालिग्राम नेपाल ।
चितवन ।
चितवनको नारायणगढ स्थित क्षेत्रपुर तरकारी तथा फलफूल मण्डीमा रात बिहान चहलपहल सुरु हुन्छ । ट्रकबाट ओर्लिएका तरकारी र फलफूलका भारी बोकेर पसल–पसल पु¥याउने मजदुरहरूको दिनचर्या निकै कठिनसंग बित्ने गर्दछ ।
दैनिक ज्यालादारीमा काम गर्ने यिनै मजदुरमध्ये केहीले भने आफ्नो भविष्यको सुरक्षाकालागि महत्वपूर्ण कदम चालेका छन् । रोजगारदाताको सहयोगबिनै उनीहरू व्यक्तिगत रूपमा सामाजिक सुरक्षा कोषमा आवद्ध भएर सवैको उदाहणीय भएका छन् ।
सामान्यतया सामाजिक सुरक्षा कोषमा रोजगारदातामार्फत श्रमिक आवद्ध हुने व्यवस्था भए पनि अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरका लागि यो प्रक्रिया सहज थिएन । तर क्षेत्रपुर तरकारी तथा फलफूल मण्डीमा काम गर्ने मजदुरहरूले विभिन्न चुनौती पार गरेर कोषमा आवद्ध हुने बाटो रोजेका हुन् ।
मण्डीमा एक सयभन्दा बढी मजदुरले दैनिक रूपमा तरकारी तथा फलफूल ढुवानीको काम गर्दै आएका छन् । तीमध्ये अहिले ४० जना मजदुर सामाजिक सुरक्षा कोषमा व्यक्तिगत रूपमा आवद्ध भइसकेका छन् । तरकारी तथा फलफूल ढुवानी मजदुर युनियन क्षेत्रपुरका अध्यक्ष राजन ढकालले कोषमा आवद्ध हुँदा प्राप्त हुने सुविधाबारे मजदुरहरू जानकार भए पनि व्यक्तिगत रूपमा आवद्ध हुन कानुनी र प्रशासनिक जटिलता भएको बताउनुभयो ।
“हामीले काम गरेअनुसार ज्याला पाउँछौं, मासिक तलब पाउने कर्मचारीजस्तो हैनौं,” अध्यक्ष ढकालले भन्नुभयो, “त्यसैले रोजगारदातामार्फत कोषमा आवद्ध हुने अवस्था थिएन । मजदुरहरू विभिन्न जिल्लाबाट आएर यहाँ काम गर्ने भएकाले सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिन पनि समस्या थियो ।”
अध्यक्ष ढकालले भन्नुभयो “भरतपुर महानगरपालिका–२ स्थित मण्डीमा काम गर्ने मजदुरहरूले वडाबाट सिफारिस पाउन नसकेपछि प्रक्रिया लामो समय रोकिएको थियो । पछि तरकारी तथा फलफूल ढुवानी मजदुर युनियनको पहल तथा सामरिक उत्थान सामाजिक संस्थाको सहकार्यमा वडा कार्यालयले सिफारिस दिएपछि मजदुरहरू कोषमा आवद्ध हुन सफल भएका हुन् ।”
पन्ध्र महिनादेखि नियमित योगदान
कोषमा आवद्ध भएका मजदुरहरूले विगत १५ महिनादेखि नियमित रूपमा योगदान रकम बुझाउँदै आएका छन् । नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिक १२ हजार १७० रुपियाँको २०.३७ प्रतिशतका दरले मासिक दुई हजार ४८८ रुपियाँ उनीहरूले व्यक्तिगत रूपमा ई–सेवामार्फत जम्मा गर्दै आएका छन् ।
अध्यक्ष ढकालका अनुसार कोषमा आवद्ध हुन वडा सिफारिस, प्यान नम्बर, विवाह दर्ता, सन्तानको जन्मदर्तालगायतका कागजात आवश्यक पर्छन् । आवश्यक कागजात नहुँदा अझै धेरै मजदुर कोषमा आवद्ध हुन सकेका छैनन् ।

उपचार खर्चबाट राहत पाउदा खुसी
सामाजिक सुरक्षा कोषको प्रत्यक्ष लाभ पाएका मजदुरमध्ये एक हुनुहुन्छ मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ५ का ओमलाल थिङ । विगत २४ वर्षदेखि क्षेत्रपुर मण्डीमा तरकारी तथा फलफूल ढुवानी गर्दै आउनु भएको छ ।
उहाँको दैनिकी कुनै दिन रातभर हुन्छ भने कुनै दिन विहान ३ बजेदखि हुन्छ । उहाँ जस्तै अन्य मदजुरहरुको काम गर्ने समय यसरी नै वित्ने गर्दछ । थिङ कोषमा आवद्ध भएपछि पाएको सुविधाबाट खुसी हुनुहुन्छ । “कोषमा आवद्ध भएको केही महिनापछि श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्नुप¥यो,” थिङले भन्नुभयो, “मेरो आर्थिक अवस्था कमजोर थियो । अस्पतालको बिल एक लाख ६ सय रुपैयाँ आएको थियो । तर सामाजिक सुरक्षा कोषबाट सबै उपचार सुविधा पाएँ । आफ्नै खल्तीबाट एक रुपैयाँ पनि तिर्नुपरेन । व्यक्तिगत रुपमा खर्च गर्न मन लागेर १५ हजार गरे त्यो अस्पतालमा उपचारको लागि होइन ।”
उहाँका अनुसार यस्तो सुविधा पाएको अनुभवपछि अन्य मजदुरहरू पनि कोषप्रति आकर्षित भएका छन् । “हामी जस्ता दैनिक ज्यालादारी गर्ने श्रमिकका लागि यो ठूलो सहारा रहेछ,” उहाँले भन्नुभयो, “सानो रकम जम्मा गर्दा आवश्यक पर्दा लाखौँ रुपियाँ बराबरको उपचार सुविधा पाइने रहेछ ।”
अनौपचारिक क्षेत्रका श्रमिकका लागि उदाहरण
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन चितवनका अध्यक्ष दीपक सिलवालले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका लागि यो अभियान उदाहरणीय भएको बताउनुभयो । “धेरै वर्षको प्रयास र संघर्षपछि मजदुरहरू व्यक्तिगत रूपमा कोषमा आवद्ध हुन सफल भएका छन्,” उहाँले भन्नुभयो, “चितवनमा मात्र होइन, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू यसरी संगठित भएर सामाजिक सुरक्षा कोषमा आवद्ध भएको यो महत्वपूर्ण उदाहरण हो ।” सामाजिक सुरक्षा प्रणालीको दायरामा अनौपचारिक क्षेत्रका श्रमिकलाई ल्याउन सके उनीहरूको भविष्य थप सुरक्षित बन्नेछ सिलवालले भन्नुभयो ।
यसै बिच कोषमा अझै आवद्ध हुन नसकेका मजदुरलाई लक्षित गर्दै शनिबार भरतपुरमा अभिमुखीकरण तथा तालिम कार्यक्रम आयोजना गरिएको छ । तरकारी तथा फलफूल ढुवानी मजदुर युनियनले आयोजना गरेको कार्यक्रममा एक सयभन्दा बढी मजदुर तथा उनीहरूका परिवारको सहभागिता रहेको थियो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष लुम्बिनी प्रदेश कार्यालयका प्रमुख केदार पौडेलले कोषका सुविधा, योगदान रकम, स्वास्थ्य उपचार, दुर्घटना तथा पारिवारिक सुरक्षा सम्बन्धी विषयमा जानकारी दिनुभएको थियो ।
क्षेत्रपुर मण्डीका यी मजदुरहरूको पहलले अनौपचारिक क्षेत्रमा कार्यरत हजारौँ श्रमिकका लागि नयाँ आशा जगाएको छ । नियमित तलब, स्थायी रोजगार र संस्थागत सुरक्षा नभएको अवस्थामा पनि आफ्नै प्रयासबाट सामाजिक सुरक्षा प्रणालीमा जोडिन सकिने सन्देश उनीहरूले दिएका छन् ।

 

शेयर गरौ

ताजा अपडेट