चितवन ।
भरतपुर महानगरपालिका अन्तर्गत पश्चिम चितवनको गुञ्जनगरमा खानेपानी समस्या हट्ने भएको छ ।
सञ्चालन भइराखेको खानेपानीले अपुग भएपछि ठुलो आयोजना अनुसार अहिले निर्माणाधिन काम अन्तिम चरणमा रहेकाले पानीको समस्या हट्ने भएको हो । भरतपुर महानगरपालिकाकाले वडा नंं १९ र २० का १४ हजार घर धुरीलाई वितरण गर्ने तयारी भएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरका इन्जिनियर साहिल मण्डलले निर्माणको प्रगती ९० प्रतिशत पूरा भएको जानकारी दिनुभयो ।
सङ्घीय सरकारको ७० प्रतिशत लगानी र उपभोत्ताको ३० प्रतिशत लगानीमा चार लाख पचास हजार लिटर क्षमताको खानेपानी ओभरहेड ट्याङकी निर्माण भएको छ । २०८२ जेठ १९ गते सम्झौता भएर निर्माण कार्य भएको आयोजनाको सम्पन्न गर्नु पर्ने समय २०८३ मङ्सिर १८ गते हो । तर सम्पन्न गर्ने मिति भन्दा अगाडिनै सकिएर पानी वितरण हुने इन्जिनियर मण्डलले बताउनुभयो ।
गुञ्जनगर सहलगानी खानेपानी आयोजना अन्तर्गत भएको कामको विल आउने तयारी भएको छ । अहिलेसम्म ९० प्रतिशत काम पूरा भइसकेकाले केही हप्ता भित्रै पानी सञ्चालन गर्न सकिने अवस्थामा रहेको उहाले जानकारी दिनुभयो । अहिलेसम्म ३० किलोमिटर पाइप लाइन विछ्याउने काम पूरा भएको छ । खानेपानी आयोजनाको काम
गौतम निर्माण सेवा कम्पनीले गदै आएको छ ।
महानगरपालिका वडा नं. २० का अध्यक्ष मुक्तीप्रसाद घलेले दुःखका साथ खानेपानीको व्यवस्था भइराखेको छ छिटो नयाँ ट्याङकीबाट पानी वितरण भएपछि जनताले सुख पाउने बताउनुभयो । अभाव हुदा पानीको व्यवस्था गर्न वडा नंं १८, १९, २५ र १५ बाट पानी ल्याएर वडावासीलाई खुवाउदै आएका थियौ उहाले भन्नुभयो । विहान बेलुका मुस्किलले पानी पुगेको छ । केही उत्सव, सामुहिक ठुला कार्य भएमा पानी खरिद गरेर ल्याउनु पर्ने हुन्छ । अव ट्याङकी निर्माण भएको छ । नयाँ आयोजनाबाट वितरण भएमा वडा वासीलाई खानेपानीको अभावबाट मुक्ति मिल्नेछ उहाले भन्नुभयो ।
इन्जिनियर मण्डलले निर्माण पूरा हुन लागेको आयोजनाको लागत पाँच करोड १६ लाख ३७ हजार ३९४ रहेको जानकारी दिनुभयो । दुइ वर्षमा निर्माण पूरा हुने गरी सम्झौतामा भएपनि केही हप्ता भित्रै सम्पन्न भएर हस्तान्तरण हुने तयारी रहेको बताउनुभयो ।
त्यस्तै गरी वडा नंं २५ मा पनि निर्माण भइराखेको खानेपानी आयोजना अन्तिम चरणमा रहेको छ । शुक्रनगर सहलगानी खानेपानी आयोजना अन्तर्गत निर्माण भइराखेको यस कार्यका लागि ४ करोड २७ लाख २३ हजार ४२८ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । गौतम निर्माण सेवा कम्पनीले निर्माणको जिम्मा लिएको यस आयोजनामा एउटा वोरिङ मार्फत पानीको व्यवस्था गरिने छ । यस आयोजना सम्पन्न भएपछि ३३ हजार ८ सय ५८ जना लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरका इन्जिनियर चिरञ्जीवि सेढाइले जानकारी दिनुभयो । आयोजनाको काम तोकिएको समयमा नै सम्पन्न हुने गरी काम भैराखेको सेढाइले बताउनुभयो ।
यहाँका वासिन्दाले खानेपानीको समस्या वर्षौदेखि भोग्दै आएका थिए । विहान वेलुका मुस्किलले खान पुग्ने व्यवस्था गरिएको थियो वडा अध्यक्ष छविलाल सापकोटाले भन्नुभयो । “महानगरवासीले पनि खानेपानीको समस्या भोग्नु परेको अचम्म लाग्ने अवस्था छ । हरेक वर्ष नयाँ घर थपिदै गएका छन्” उहाले भन्नुभयो “खानेपानीको समस्या अझ वृद्धि भएको छ । ”
पानी ट्याङकी निर्माणपछि छिटै समस्या हट्ने भएको उहाले बताउनुभयो । आयोजना सम्पन्न भएपछि यहाँका वासिन्दालाई चौविसैघण्टा पानीको सुविधा हुने उहाले बताउनुभयो । कार्यालयका इन्जिनियर सेढाइले ३४ किलोमिटर पाइप विछ्याउने तयारी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार महानगरपालिकाको विभिन्न चार वटा वडामा अहिले खानेपानी ट्याङकी निर्माणको आयोजना अन्तर्गत धमाधम काम भइराखेको छ । वडा नंं ३ नारायणगढ बजार, वडा नंं ८ गौरीगञ्ज क्षेत्र, वडा नं. २० र वडा नंं २५ मा खानेपानी विस्तार हुदै गरेको छ । चार वटै स्थानमा पानीको सुविधा पुग्नेछ । यो आयोजना पूरा भएपछि महानगरपालिका भित्र पानीको असुविधाको अवस्था हट्ने उहाले बताउनुभयो ।


