चितवन ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि केन्द्र सरकारले चितवनका सातवटै स्थानीय तहलाई विभिन्न शीर्षकमा अनुदान उपलब्ध गराउने भएको छ। वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानअन्तर्गत चितवनका पालिकाले उल्लेख्य बजेट प्राप्त गरेका हुन्।
प्राप्त विवरणअनुसार भरतपुर महानगरपालिकाले सबैभन्दा बढी रु. २ अर्ब ५ करोड १७ लाख अनुदान प्राप्त गर्ने भएको छ। चितवनको एकमात्र महानगरपालिकाका रूपमा रहेको भरतपुरले जिल्लाका अन्य स्थानीय तहको तुलनामा निकै ठूलो हिस्सा पाएको हो।
यस्तै, रत्ननगर नगरपालिकाले रु. ५८ करोड ३४ लाख, राप्ती नगरपालिकाले रु. ५३ करोड ५ लाख तथा माडी नगरपालिकाले रु. ५० करोड २६ लाख अनुदान प्राप्त गर्ने भएका छन्।
खैरहनी नगरपालिकाको भागमा रु. ४५ करोड ९५ लाख, कालिका नगरपालिकालाई रु. ४४ करोड ६८ लाख तथा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले रु. ३८ करोड ५९ लाख अनुदान प्राप्त गर्नेछन्।
संघीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत उपलब्ध गराउने वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानका हुन्। यसबाहेक स्थानीय तहहरूले प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट तथा आफ्नै आन्तरिक स्रोतबाट संकलन हुने आम्दानीसमेत जोडेर आगामी आर्थिक वर्षको पूर्ण बजेट तर्जुमा गर्नेछन्।
स्थानीय तहहरूले आगामी असार १० गतेभित्र नगरसभा तथा गाउँसभा मार्फत वार्षिक नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्।

