चितवनमा बृहत् “रक्तदान महोत्सव २०८३” आयोजना हुँदै, मानवताको सेवामा सहभागी हुन आह्वान

 

चितवन ।
मानव जीवन रक्षालाई केन्द्रमा राख्दै चितवनमा बृहत् रक्तदान महोत्सव २०८३ आयोजना हुने भएको छ।
ब्लड डोनर्स सोसाइटी नेपाल, जिल्ला शाखा चितवनको आयोजनामा हुने उक्त कार्यक्रम ३० जेठ २०८३ मा भरतपुर–१० स्थित चितवन उद्योग संघ, दूरसञ्चार रोडमा सम्पन्न हुनेछ।

आयोजकका अनुसार यो महोत्सवलाई नेपालकै गौरवशाली तथा ऐतिहासिक रक्तदान अभियानका रूपमा अघि बढाउने तयारी गरिएको छ। कार्यक्रममा सहभागी हुने रक्तदाताहरूलाई आकर्षक उपहार प्रदान गरिनेछ भने रक्तदानको महत्वबारे जनचेतनामूलक गतिविधिहरू पनि सञ्चालन गरिनेछ।

आयोजकले यो अभियानलाई “जीवन बचाउने सामूहिक आन्दोलन” का रूपमा लिन आग्रह गरेको छ। साथै, रक्तदानलाई उत्सवका रूपमा मनाउँदै अधिकभन्दा अधिक युवाहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

कार्यक्रममा सहभागी रक्तदाताहरूलाई सम्मान गर्ने, विशेष कार्यक्रम सञ्चालन गर्ने तथा समाजमा रक्तदानप्रति सचेतना फैलाउने उद्देश्य राखिएको छ।

आयोजक समितिले रक्त अभावका कारण अस्पतालहरूमा हुने कठिनाइ कम गर्न यस्तो अभियान महत्वपूर्ण हुने बताउँदै सबै इच्छुक नागरिकलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।

“रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो महोत्सव चितवनमा सामाजिक सेवाको उदाहरणीय कार्यक्रम हुने अपेक्षा गरिएको छ।

 

शेयर गरौ

ताजा अपडेट