तीर्थ नेपाल, चितवन ।
भरतपुर महानगरपालिका वडा नम्बर २५ का कृषक छविलाल न्यौपाने विगत १४ वर्षदेखि व्यावसायिक प्राङ्गारिक खेतीमा सक्रिय छन् । २०६८ सालदेखि सुरु गरेको उनको खेती अहिले १६ बिघा क्षेत्रफलमा फैलिएको छ । वडा नम्बर २८ मा ७ बिघा र वडा नम्बर २५ मा ९ बिघा जमिनमा खेती गरिएको छ । तीमध्ये करिब ३ बिघा आफ्नै र बाँकी भाडामा लिइएको हो ।

यसका अतिरिक्त साथीहरुसँग मिलेर भरतपुर–२४ स्थित प्रभात मावीसँग सम्बन्धित ८ बिघा जग्गा १५ वर्षका लागि लिएर खेती विस्तारको काम पनि अघि बढाइएको छ ।
उनले सञ्चालन गरेको “प्रभात प्राङ्गारिक कृषि उत्पादन केन्द्र” बाट खाद्यान्न, तरकारी तथा प्रशोधित सामग्री बिक्री गरी वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ । मकैको च्याख्ला, गहुँको दलिया लगायतका प्रशोधित उत्पादनसँगै विभिन्न मौसमी तरकारी उत्पादन हुँदै आएको छ ।

उनका अनुसार गाजर र चुकन्दर जर्मनीसँग सम्बन्धित पक्षले खरिद गर्दै आएको छ भने यस वर्ष उत्पादन भएको राजमा कतार र दुबईसम्म पुगेको छ । केही उत्पादन अर्गानिक मार्टहरुले लैजाने गरेका छन् भने बाँकी स्थानीय बजार र काठमाडौंसम्म पुग्ने गरेको छ ।

उनले फर्सी, बोडी, घिउसिमी, लौका, टमाटर, करेला लगायतका तरकारी उत्पादन गर्दै आएका छन् । तर, हाइब्रिड बीउ प्रयोग नगरी स्थानीय बीउलाई प्राथमिकता दिएको बताउँछन् ।
छविलालका अनुसार रासायनिक खेतीमा सुरुवातमा उत्पादन राम्रो देखिए पनि दीर्घकालमा लागत बढ्दै जान्छ । “रासायनिक विधिबाट गरिने खेतीमा विषका कारण माटो मर्दै जान्छ । जीवाणु रहित माटोमा उब्जनी हुँदैन,” उनले भने, “तर प्राङ्गारिक माटोमा चाहिने जति जीवाणु हुन्छन् । गड्यौला त बिना पैसाका खेताला हुन् ।”
उनका अनुसार सुरुमा बिग्रिएको माटो सुधार्न धेरै समय र लगानी लागे पनि एकपटक प्राङ्गारिक माटो तयार भएपछि लागत क्रमशः घट्दै जान्छ । “अहिले मलमा धेरै खर्च हुँदैन, तर झार व्यवस्थापनमा लागत बढी लाग्छ,” उनले बताए ।
अर्गानिक उत्पादन अत्यन्त महँगो हुन्छ भन्ने बुझाइलाई उनी भ्रम मान्छन् । “अर्गानिक मार्ट र विदेश जाने उत्पादनको हकमा रोप्नुभन्दा अगावै मूल्य निर्धारण हुन्छ,” उनले भने, “अन्य बजारमा त मूल्य लगभग सबैको बराबरी नै हो ।”
उनका अनुसार रोग तथा किरा नियन्त्रणका लागि एग्रोभेटको कुनै औषधि प्रयोग गरिँदैन । आवश्यक जैविक विषादी, मल, औषधि तथा पोषण सामग्री आफैं तयार पारिन्छ । “एग्रोभेटको बिल नै शून्य हुन्छ,” उनले सुनाए ।

खेती व्यवस्थापनमा मासिक रूपमा दुई जना स्थायी कामदार र श्रीमान–श्रीमती स्वयं खटिने गरेका छन् । २०८२ को वैशाखदेखि चैतसम्म मात्रै २ हजार ३ सय ८७ जना दैनिक ज्यालादारी खेताला प्रयोग गरिएको उनले जानकारी दिए ।
“विषादीले उत्पादन धेरै दिने होइन, बरु माटोमा भएका आवश्यक जीवाणु मार्ने काम गर्छ,” उनले भने, “प्रकृतिसँग आफैं नियन्त्रण र सन्तुलन गर्ने शक्ति हुन्छ । किरा वर्षभरि सबै समयमा लाग्दैन ।”
उनले किसानको आम्दानीको ठूलो हिस्सा विषादी र औषधिमा खर्च हुने गरेको उल्लेख गर्दै भने, “तरकारी किसानको ५० देखि ६० प्रतिशत आम्दानी एग्रोभेटले खान्छ भने २०–२५ प्रतिशत किराले खाएर के फरक पर्छ र ?”

छविलाल आफूले प्राङ्गारिक खेतीतर्फको प्रेरणा आफ्नै बुबाबाट पाएको बताउँछन् । साथै वसन्त रानाभाट, महेश्वर घिमिरे तथा काभ्रेको हसेरा फार्मका सञ्चालक गोविन्द शर्मा लगायतबाट सिक्ने प्रेरणा मिलेको उनी बताउँछन् ।
“अरु त काम गर्दै सिक्दै जाने हो,” उनले भने, “रोगकिराको प्रकोपबारे म आफैं अध्ययन, अनुसन्धान र प्रयोग गर्छु । आफ्ना अनुभव कृषकहरुबीच सुनाउँछु र उहाँहरुको पनि सुन्छु ।”
आफ्नो सबैभन्दा ठूलो सम्पत्ति के हो भन्ने प्रश्नमा उनले दिएको उत्तर झन् अर्थपूर्ण छ । “मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ति भनेकै आफ्नो स्वास्थ्य, परिवारको स्वास्थ्य अनि त्यसपछि माटोको स्वास्थ्य हो,” उनले भने ।


