चितवन । भरतपुर महानगरपालिका–७ बुद्धचोक क्षेत्रमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रुपन्देही सैनामैना नगरपालिका–१६ घर भई हाल भरतपुर–७ बुद्धचोक बस्दै आएका ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरी अनुसन्धानका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैंडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । उनलाई पोखराबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार मृतक र आरोपितबीच विगत केही वर्षदेखि चिनजान रहेको र उनीहरू सँगै काम गर्दै आएका थिए । आर्थिक लेनदेन तथा मोबाइल फोनको विषयलाई लिएर केही दिनदेखि विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको दिन फोन र सामाजिक सञ्जालमार्फत गालीगलौज भएपछि बुद्धचोक नजिकै दुवैजनाबीच भेट हुँदा विवाद चर्किएको प्रहरीको भनाइ छ । विवादकै क्रममा धारिलो हतियार प्रहार हुँदा आशिषको मृत्यु भएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


