काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग ऐतिहासिक र भारी मतान्तरले पराजित भएपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गर्ने ब्रिफिङ गरेका छन्। झापा–५ को आफ्नो तीन दशक लामो ‘किल्ला’ भत्किएपछि भक्तपुरको गुण्डुस्थित निवासमा रहेका ओलीले अब बन्ने रास्वपा सरकारले आफू र पुराना दलका नेताहरूमाथि कडा ‘धरपकड’ गर्ने दाबी गरेका हुन्।
स्रोतका अनुसार, शनिबार ओलीसँग भेटेका एमाले केन्द्रीय सदस्यहरूलाई उनले आगामी राजनीतिक अवस्था चुनौतीपूर्ण हुने संकेत गरेका छन्। तर, ओलीको मुख्य चिन्ता भदौ २३–२४ को जेनजी आन्दोलनको छानबिन प्रतिवेदनको सम्भावित सिफारिसमा केन्द्रित रहेको थियो। ‘उहाँ (ओली) मा आफ्ना कमजोरी महसुस भएको देखिएन, बरु रास्वपा सरकारले अब उधुम मच्चाउँछ र हामीलाई सिध्याउन खोज्छ भन्ने चिन्ता र आक्रोश मात्र पाइयो,’ ओलीलाई भेटेर निस्किएका एक नेताले बताए।
चुनावको नतिजा सार्वजनिक हुँदै गर्दा ओली निवासमा विगतको तुलनामा नेता र कार्यकर्ताको चहलपहल निकै पातलो देखिएको छ। हारको बाबजुद ओलीले आफ्ना कार्यकर्ताहरूलाई आगामी दिनमा आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएका छन्।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले गठन गरेको आयोगले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन गर्दै आइतबार बिहान प्रतिवेदन बुझाउने तयारी गरेको छ।
ओलीको ब्रिफिङका मुख्य बुँदाहरू:
- धरपकड र जेल हाल्ने आशंका: ओलीले रास्वपाको बहुमतको सरकार बनेपछि विभिन्न बहानामा आफू लगायत पुराना पार्टीका नेताहरूलाई मुद्दा मामिला गर्ने र जेल हाल्ने योजना बनिसकेको दाबी गरे।
- भू-राजनीतिक डिजाइन: नेपालमा संविधान र लोकतन्त्र स्थापना गर्ने दलहरूलाई कमजोर बनाउन लामो समयदेखि बुनिएको भू-राजनीतिक डिजाइन अहिले सफल हुन खोजेको ओलीको तर्क छ।
- विगतका घटनाको कडी: भदौ २३ र २४ यताका घटनाक्रमहरू वर्तमान परिस्थितिको पृष्ठभूमि तयार पार्नकै लागि भएको उनले बताए।
- अन्य दलप्रति असन्तुष्टि: चुनाव रोक्न वा प्रतिनिधि सभा पुनस्र्थापनाको मुद्दामा नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको नेकपाले साथ नदिएकोमा पनि ओलीले असन्तुष्टि पोखेका छन्।
बालेनले एमाले अध्यक्ष ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। कुल खसेको मतमध्ये बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा खुम्चिएका छन्। काठमाडौँ महानगरपालिकाको प्रमुख पद त्यागेर राष्ट्रिय राजनीतिमा होमिएका बालेनका लागि यो जितले प्रधानमन्त्रीको दौडमा वैधानिकता प्रदान गरेको छ।
झापा–५ विगत तीन दशकदेखि केपी शर्मा ओलीको निर्विकल्प किल्ला मानिन्थ्यो। २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट सक्रिय ओलीले २०५६ मा बाहेक यहाँ कहिल्यै हार व्यहोर्नु परेको थिएन।


