काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले आज भएको चुनावी परिणामले कम्युनिस्ट आन्दोलनका लागि घातक परिणाम आउने विश्लेषण गरेको छन्। चुनाव सकिएलगत्तै भिडिओ सन्देश जारी गर्दै देशले अब लफङ्गाहरूको शासन भोग्ने दुर्दिन आएको टिप्पणी गरे।
उनले भने, ‘यो चुनावमा गणितीय रूपमा आउने यसको परिणाम आउन बाँकी छ । तर जे भए पनि कम्युनिस्ट आन्दोलनका लागि यो अर्को घातक एउटा परिणाम निक्लने वाला छ, हुँदै छ । यस हिसाबले हेर्दाखेरि यो तेस्रो धक्का हुनेछ ।’उनले अहिले ओलीले हारे शत्रुहरूले हराएको र जितेको जति आफूले जितेको भन्ने बताए। उनले प्रचण्डले भने यो चुनाव जित्ने उनको अनुमान छ।
उनले थपे, ‘नेपालको राजनीतिमा नालायकहरूले नसुध्रिँदा मुलुकले नालायकहरूको शासन त भोग्यो भोग्यो, अब लफङ्गाहरूको शासन भोग्ने दुर्दिन आउँदैछ। त्यो व्यहोर्दैछ भन्ने मलाई लाग्छ । मैले यो लफङ्गाहरूको शासन भनेर एउटा जोखिमपूर्ण शब्द प्रयोग गर्या छु । म चाहन्छु मैले भविष्यमा यो फिर्ता लिन परोस् । तर तथ्यहरूले, अहिलेसम्मका तथ्यहरूले त्यस्तो देखाउँदैनन् ।’


