काठमाडौँ ।संखुवासभाको मकालु गाउँपालिका–नुमबाट सेदुवा जोड्ने अरूण नदीमाथिको बेलिब्रिज शनिबार बिहान भत्किएको छ। निर्माण सामग्री बोकेको हेभी सवारीसाधन पुल पार गर्ने क्रममा संरचना गाडीसहित भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए।
स्थानीयका अनुसार पुल पार गर्ने क्रममा एक्कासी संरचना चिरिएर ढलेपछि नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पुल भत्किएसँगै उक्त क्षेत्रमा आवतजावत ठप्प बनेको छ।
यसै मार्ग हुँदै प्रसिद्ध पर्यटकीय गन्तव्य मकालु बेस क्याम्प जाने–आउने गरिन्छ। घटनापछि स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ।
प्रहरीका अनुसार घटनामा मानवीय क्षति भएको छैन। तर पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल सञ्चालनमा ल्याउन नसकिने बताइएको छ।
डिएसपी मैनालीका अनुसार पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। विशेषगरी कासुवा हाईड्रोपावरसँग मर्मत सम्भारबारे छलफल भइरहेको उनले बताए।
अरूण नदीमाथिको उक्त बेलिब्रिज मकालु क्षेत्रका बासिन्दा र पर्यटन गतिविधिका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा मानिन्छ। पुल भत्किएपछि स्थानीयले दीर्घकालीन र सुरक्षित संरचना निर्माणको माग गरेका छन्। घटनास्थलमा प्रहरी टोली खटिएर थप विवरण संकलन तथा सुरक्षा व्यवस्थापनमा जुटिरहेको छ।


