शिवकुमार रिजाल ।
मनहरी ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं ७ रमन्टारस्थित राजमार्ग छेउमा बसोबास गरेको दुई दशक नाघिसक्यो । तत्कालीन शाही शासन होस् वा गणतन्त्रपछिका विकसित राजनीतिक घटना क्रम, क्षेत्रबहादुर मुक्तानको सक्रियता भूस्वामित्व प्राप्तिका लागि रहिरह्यो ।
४५ वर्षीय मुक्तानले व्यक्तिगत र सामूहिक रुपमा जग्गाधनी प्रमाण पुर्जा प्राप्तिका निरन्तर आवाजहरु उठाइरहनु भयो । सरकार, राजनीतिक पार्टी, अधिकारवादीहरुले पनि भूमिहीन, सुकुम्बासी र अब्यवस्थित बसोबासीका कुराहरु सुनिरहे मात्र ।
राजाको प्रत्यक्ष शासनमा तत्कालीन मन्त्री परिषदका अध्यक्ष ज्ञानेन्द्र शाहलाई भेटेर बिन्ति बिसाउनेदेखि गणतन्त्रका प्रधानमन्त्रीहरुसामु निरन्तर जग्गाधनी पुर्जाका निम्ति प्रयत्न भइरह्यो । २०६४ र २०७० सालमा दुईपटक भएको संविधानसभाको निर्वाचन, २०७४ साल र २०७९ सालमा भएको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबै राजनीतिक पार्टी र उम्मेदवारहरुले भूमिहीन, सुकुम्बासी र अब्यवस्थित बसोबासीका निम्ति जग्गा धनी पुर्जा बितरण गर्ने एजेण्डा सुनाउन छाडेनन् ।
पश्चिम मकवानपुरको कैलाश, राक्सिराङ, मनहरी र हेटौँडा उपमहानगरपालिका क्षेत्रका बाढीपहिरोबाट प्रभावित र बिस्थापित भएकाहरुले २०६२ सालमा मनहरी गाउँपालिका ६ नयाँबस्ती, मनहरी गाउँपालिका ७ रमन्टार बस्ती स्थापना गरी बसोबास थालेका थिए । ४२३ परिवारले सुरु गरेको बस्तीमा अहिले एक हजार ५ सय भन्दा बढी घरपरिवार बसोबास गर्छन् । २० वर्षको अबधिमा छाप्राबाट सुरु भएका घरहरु पक्की बनिसकेको र एक पुस्ता जन्मेर युवक भइसकेको सन्दर्भ सुनाउँदै भूमिहीन, सुकुम्बासी तथा अब्यवस्थित बसोबासी संघर्ष समितिका अध्यक्ष रहनु भएका मुक्तान भन्नुहुन्छ–‘फागुन २१ गते फेरि चुनाव आयो, लालपुर्जाका एजेण्डा भएका झोला बोकेर उम्मेदवारहरु घरघर आइरहेका छन् ।’
गत वर्ष मनहरी गाउँपालिकामा ¥याली, सभासमेत गरेर लालपुर्जाका लागि आन्दोलित उनीहरुले यस वर्ष लालपुर्जाका लागि १५ हजार हस्ताक्षर संकलन गरी प्रदेश र सङघीय सरकारलाई बुझाउने तयारी थियो । तर, बीचमै जेन्जी आन्दोलन भएपछि उक्त कार्यक्रम स्थगन भएको मुक्तानको भनाइ छ ।
व्यथा २ दशकको मात्र होइन । चितवन र मकवानपुरको सीमावर्ती क्षेत्र लोथर बजारका जनताले जग्गाधनी पुर्जा नपाएको ६० वर्ष नाघेको छ । पटक पटक जग्गाधनी पुर्जाका लागि भएका संघर्षहरुमा लोथरको माग पनि थपिने गर्छ । तर, पुर्जाको आशा गर्दागर्दै आफू बुढो भएको र राजनीतिक÷सामाजिक जीवनबाटै सन्यास लिनुपर्ने बेला भएको मनहरी ६ का समाजसेवी अशोक शाक्य बताउनु हुन्छ । ‘नेताहरु आउँछन्, चिल्ला कुरा गरेर जान्छन्, हामी आशमा बसिरहन्छौं’, शाक्यले भन्नुभयो–‘भूस्वामित्वको सपना सबैले चुनावमा बेच्ने गरेका छन् ।’
भूमि समस्या समाधान आयोग मकवानपुरमा झण्डै ३३ हजार जनाले जग्गाधनी पुर्जाका लागि आवेदन दिएका छन् । तीमध्ये बागमती र बकैया गाउँपालिकाका २ सय परिवारले हालसम्म पुर्जा प्राप्त गरेको आयोगका अध्यक्ष बलराम बल बताउनुहुन्छ । उहाँका अनुसार मकवानपुर निर्वाचन क्षेत्र नं २ को मनहरी गाउँपालिका, थाहा नगरपालिका र हेटौँड उपमहानगरपालिकाबाट जग्गाधनी पुर्जाका लागि अधिक माग छ । स्थानीय सरकारले आवश्यक सहजीकरण समयमै नगरिँदा लालपुर्जा बितरण गर्न समस्या भइरहेको अध्यक्ष बलको भनाइ छ । ‘लालपुर्जा बितरणको बिषयलाई राजनीतिको बिषय बनाएका निकै समस्या भएको छ’, अध्यक्ष बलले भन्नुभयो–‘स्थानीय सरकार र वडा कार्यालयहरुले सहजीकरण गरेर पठाएमा सरासर काम हुने र पुर्जा बितरण गर्न सकिनेछ ।’
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पनि जग्गाधनी पुर्जाकै बिषय लिएर उम्मेदवारहरु मतदाता माझ पुगिरहेकाले उनीहरुलाई लिखित रुपमा भूमि समस्या समाधानका लागि प्रतिबद्धता जनाउन लगाउने तयारी गरिएको भूमिहीन, सुकुम्बासी तथा अब्यवस्थित बसोबासी संघर्ष समितिले जनाएको छ । गोरखापत्रबाट


