काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताइन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताइन् ।
ुमतपत्र छपाइ गरेको हरेर मलाई निकै उत्साह जागेर आयो, मतपत्र हेर्ने काम भयो, त्यो देखेर हामीलाई लाग्यो, निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ । प्रेसका कर्मचरीहरुले एकदमै राम्रो काम गर्नु भएको रहेछु, प्रधानमन्त्री कार्कीले भनिन् । निर्वाचनको चार खम्बामध्ये दुई खम्बा निर्वाचन आयोग रहेको उल्लेख गर्दै उनले देशभर निर्वाचनको माहौल बनेको बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ुतपाईँहरू निश्चिन्त मान्नुस्, चुनाव आयो, फरक पर्दैन, चुनाव एउटै र एक दिनमा हुन्छ, दुई चोटी हुने वाला कहीँ छैन, एकै दिनमा हुन्छ, कहीँ कतै केही हुनेवाला छैन, तोकिएकै मितिमा चुनाव हुन्छ । निर्वाचनको दिन फागुन २१ गते मौसम अनुकूल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सबै तिर राम्रो भएर आएको बताइन् । हामी सबैले मतदान गर्न पाउँछौँ भन्दै उनले मतदानको सबै नतिजा आएपछि नयाँ सरकार बन्ने र आफूहरू आफ्नो घर फर्कने बताइन् ।
ुअब राम्रो हुन्छ, हामी सबैले मतदान गर्न पाउँछौँ, त्यसको परिणाम आउँछ, त्यसपछि सरकार बन्छ र हामी थपक्क सरकार हस्तान्तरण गर्छौँ र आ(आफ्ना घरतिर जान्छौँु, प्रधानमन्त्री कार्कीले भनिन् । मतपत्र छपाइ अनुगमनपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर चुनावी माहौल बन्दै गएको बताए । उनले भने,ुभदौ २३ गते मानवता र २४ गते मुलुक गम्भीर सङ्कटमा पुगेको थियो । अहिले मुलुकमा राजनीतिक हिंसा र द्वन्द्व बिस्तारै कम हुँदै गएको छ । देशभर चुनावी वातावरण बन्दै गएको छ । तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्दछु ।ु
वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री अर्यालले आउँदो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा थप सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताए । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै उनले अति संवेदनशील र संवेदनशील मानिएका क्षेत्रमा पूर्व तयारीसहित विशेष सुरक्षा प्रबन्ध लागू गरिने बताए ।
देश र नागरिकलाई कुनै पनि हालतमा असुरक्षित हुन नदिने भन्दै गृहमन्त्री अर्यालले चुनावका क्रममा एक थोपा रगत बग्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धतालाई अङ्गीकार गरी सुरक्षा योजना तयार पारेको बताए । निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको र जनताले निर्धक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरिने उल्लेख गर्दै उनले देशभर एकै चरणमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको बताए ।


