संसद् पुन:स्थापनाको मुद्दामा अदालत कानमा तेल हालेर बसेको ओलीको टिप्पणी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा गम्भीर संवैधानिक संकट परेका बेला अदालत कानमा तेल हालेर बसेको टिप्पणी गरेका छन् ।

एमाले झापा-काठमाडौं सम्पर्क मञ्चद्वारा आज साँझ राजधानीमा रहेका झापालीसँगको अन्तरक्रियामा ओलीले संसद् पुन:स्थापनाको मुद्दाको छिनोफानो छिटो हुनुपर्ने बताए ।

‘यस्तो बेलामा हामी न्याय माग्न अदालतमा गयौँ। अदालत कुनै सुनवाइ गरिरहेको छैन कानमा तेल हालेरै बस्या छ। म अदालत सम्मानित होस् भन्ने चाहन्छु सम्मान गर्न चाहन्छु स्वतन्त्र न्यायालयको गरिमा रहोस् भन्ने चाहन्छु । यो सरकार संवैधानिक हो कि होइन न्यायालयले भन्दिनुपर्‍यो । हो भन्छ भने अगाडि बढौँला’, ओलीले भने ।

अधिकांश सांसदहरूले न्यायका लागि मुद्दा हालेको भन्दै उनले थप यसो भने-

न्याय दिनु पर्दैन ? अनि चुनाव गर्न दिएर चुनावपछि न्याय निरूपण गर्ने ? मान्छे घाइते छ हामी उपचार पाऊँ भनिरहेका छौँ, उपचार नगरेर अनि मरेपछि उपचार दिने ? हामी उपचार  गर्छौँ भन्दै थियौँ डाक्टरले हेर्ने तारिख पनि तोक्दै थियौँ, बिरामी मरोस् अनि अब त के गर्ने बिरामी मरिहाल्यो अब त डाक्टरले एपोइन्टमेन्टको समय दिनै परेन भन्ने फैसला गरिदिने ?

स्वतन्त्र न्याय गर्ने अधिकार न्यायालयको हो भन्दै ओलीले जे न्याय ठान्छ अदालतले त्यही न्याय गरोस् भनी ध्यानाकर्षण गराए । म न्यायाधीशज्यूहरूलाई आग्रह गर्न चाहन्छु हाम्रो पक्षमा फैसला गर्नुहोस् होइन जे न्याय हो त्यो त दिनुस् । के न्याय हो त्यो त दिनुस् । फैसला नै नगरेर कारण के छ ? तपाईंहरूले नभ्याउनुभएको हो ? साधारण तारिख सारेको सारै गर्दै हुनुहुन्छ नभ्याउनु नै भएको हो ? फागुन २१ मा निर्वाचन राखिएको छ त्यो भन्दा अगाडि तपाईंहरूले फैसला गर्न सक्नुहुन्थ्यो अस्ति किन तारिख नदिनुभएको ? किन पेसी नचढाउनुभएको ? किन अगाडि नबढाउनुभएको ? नगर्न खोजेको स्पष्ट देखिन्छ । यसै गरेर सम्मानित अदालतको गरिमा बढ्छ ?

शेयर गरौ

ताजा अपडेट