गुलेली मट्यांग्रा खेल्नेहरूलाई देश जिम्मा लाउनु पर्छ भनिँदैछ : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश चलाउनु गुच्चा खेल्नु नभई सोँच, नीति, दर्शन र सिद्धान्त चाहिने बताएका छन् ।

साँझ पार्टीको झापा-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको निर्वाचन विशेष अन्तरक्रियामा ओलीले प्रतिस्पर्धी बालेनप्रति लक्षित गर्दै प्यासेन्जरसम्म भएर प्लेन चढेकालाई पाइलट बन्ने रहर जागेको भन्दै कटाक्ष गरेका छन् ।

ओलीले भने, ‘पुराना पार्टी काम लाग्दैनन्, पुरानाले हुँदैन, केही नजानेका गुलेली मट्याङ्ग्रा खेल्दै गरेका गुच्चा खेल्नेहरूलाई ल्याएर जिम्मा लाइदिनुपर्छ देश । यस्तो भनिँदैछ । अमेरिकामा के भनिन्छ ? ८० वर्षका अनुभवी त्यहाँ नेता छन्। त्यसकारण देश जोगिन्छ देश बन्छ भनिन्छ अमेरिकामा । नेपालमा चाहिँ ७० वर्षका बुढाले पनि देश चलाउँछ ? भन्छन् । दुनियाँमा कहीँ सुनिँदैन यो नयाँले देश चलाउँछ भन्ने। कहिले आफूलाई मात्रै भोट हाल्छु, कहिले भोटै हाल्दिनँ भन्ने भोट हालेभन्दा परको कुनै अनुभव नभएका मान्छे प्यासेन्जरसम्म भएर प्लेन चढेका मान्छेलाई पाइलट बनाउनुपर्छ भन्ने पनि कुरा चल्छ । त्यस्ता प्लेनमा को चढ्ला ? पाइलटको सीटमा नबसेकाहरू पाइलट भएर देश चलाउने ? सिकेकै छैन, के हुन थालेको देश ?’

आफूहरूको घुँडा टेक्ने नीति नभएको जिकिर गर्दै ओलीले चुनावमा लडेरै जित्ने बताए ।

उनले थपे-

लड्छौँ र जित्छौँ। लक्ष्मीप्रसाद देवकोटाले साँढे भन्ने कवितामा उहिले दश सालमै लेखेका थिए ‘साँढे किन लड्छ’ भन्दा ‘नलडी कोही हुन्न विजेता’। विजेता हुनका लागि लड्नुपर्छ, लडेर मात्रै विजेता हुन्छ। हाम्रो असाधारण लड्ने शक्तिसँग दुनियाँ परिचित छ त्यसकारण हामी माथि असाधारण घेराबन्दी छ। असाधारण घेराबन्दी।

तमासा यस्तो छ एउटा आम निर्वाचन लडेको छैन प्रधानमन्त्री हुन्छु भनेर भन्दिएको छ, हुन्छ भन्दिएको छ, प्रचार गरेको छ, होहल्ला मचाएको छ, हो कि क्या हो भन्ने जस्तो पारेको छ। एउटा चुनाव लडेको छैन। कतिपय यस्ता मान्छे प्रधानमन्त्री हुन्छु भनेर पनि अगाडि बढेको अगाडि सरेको देखिन्छ, जससँग काम गर्ने कुनै अनुभव छैन। अनुभव भएको त पुरानो भइहाल्यो नि !

देशको रक्षा गर्न, देशलाई फलाउन फुलाउनका लागि, देश विकास गर्न, देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन यी सबै कामको लागि नेकपा एमालेको सरकार चाहिन्छ। त्यसकारण यस चुनावमा अरूले जित्नै हुँदैन नेकपा एमालेले जित्नुपर्छ। एमालेले बहुमत ल्याउनुपर्छ ।

शेयर गरौ

ताजा अपडेट