काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले केही दिनदेखिको मौनता तोड्दै आज सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेखेका छन् । देश अन्तिम सुनामीको तयारीमा रहेको भन्दै उनले अन्य राजनीतिक शक्तिहरुलाई मिल्न चुनौति दिएका छन् ।
फागुन २१ मा हुने चुनावपछि देशमा प्रतिपक्षसमेत नयाँ हुनुपर्ने रविको भनाइ छ । सामान्य ठानेको चोटले सताएर केही दिन आराम गर्नुपरेको र आजबाटै सार्वजनिक जीवनमा फर्किन लागेको उनले बताएका छन् ।
रविले लेखेका छन्, ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ । मेरो खुला आग्रह छ—अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्दैनौँ ।’
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो वक्तव्यमा लामिछानेले आफू अस्पताल बसाइपछि संकल्प र प्रतिबद्धतासहित सार्वजनिक जीवनमा फर्किएको उल्लेख गरेका छन् । देशमा अब हुने परिवर्तन कुनै सामान्य घटना नभई इतिहास बन्ने दाबी गर्दै उनले त्यो इतिहास नेपाली जनताले आफ्नै मतपत्रमार्फत लेख्ने बताएका छन् ।
तत्कालीन दुईतिहाइ सरकारको राजनीतिक प्रतिशोधका कारण आफूले शारीरिक र मानसिक पीडा भोग्नुपरेको संकेत गर्दै लामिछानेले देशभरका अदालत धाउँदै त्यो ‘विष’ पखाल्ने संघर्ष जारी रहेको बताएका छन् । उनले सिंहदरबार पुग्ने होइन, सिंहदरबार बदल्ने उद्देश्यसहित घण्टी चिन्हमा मतदान गर्न आह्वान गरेका छन् ।
एकाध पुल, भवन र सडकको प्रचारलाई ‘कस्मेटिक सुधार’को संज्ञा दिँदै लामिछानेले कुशासनको मुख्यालय बनेको सिंहदरबारबाटै ‘निलो क्रान्ति’ सुरु गर्न स्पष्ट जनादेश आवश्यक रहेको बताएका छन् । वर्षौंअघि रोपिएको अस्थिरताको जरो नउखेलीसम्म देशमा कुनै परिवर्तन सम्भव नहुने उनको भनाइ छ ।
रास्वपालाई भिजन, नीति र सिद्धान्त नभएको आरोप लगाउनेहरूप्रति आक्रोश पोख्दै उनले पार्टीका दस्तावेज पढ्न चुनौती दिएका छन् । पुराना राजनीतिक शक्ति र उनीहरूको विचारले देशलाई रसातलमा पुर्याइसकेको दाबी गर्दै उनले अब त्यस्ता भाषण र सिद्धान्त नदेखाउन आग्रह गरेका छन् ।
लामिछानेले लोकतान्त्रिक उपलब्धि जोगाउँदै जनताको बलमा सुशासन, विकास, कूटनीति र अर्थ–राजनीतिमा नयाँ युगको सुरुवात गर्न चाहेको बताएका छन् । फागुन २१ लाई नेपाली इतिहासको ‘माइलस्टोन’को संज्ञा दिँदै उनले त्यसपछि बन्ने संसदमा प्रतिपक्ष समेत नयाँ हुनुपर्ने धारणा राखेका छन् ।
उनको पूरा स्टाटसः
आदरणीय आमा बुबा, दिदि बहिनी तथा दाजुभाईहरू,
सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् ।
अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरिरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरीका अदालतहरु धाउदा धाउदा थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमूदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरवार पुग्न होइन सिंहदरवार बदल्न माग्दैछु घण्टीमा भोट । दलहरुका मसिहाहरुले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु तपाइँको भोट। एकाध पुल, एकाध भवन र एकाध सडकका तस्वीर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुची छैन । कुशासनको मुख्यालय भएको सिंहदरवारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन ।
म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन । यो देशको भविश्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोर भन्दा कठोर तपस्याका लागि विल्कुल तयार छु । मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यसको परवाह छैन। तर यस देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरु विरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ, अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ ।
भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी,भिजन बिनाका, निती सिद्धान्त बिनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा-दस्तावेज पढ्ने जाँगर विश्लेषणजीविहरुलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ? विचार सिद्धान्त,नीति सबै भएका भनिएका तपाइहरुको नियत,कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस् , नपढाउनुस् । देश रसातलमा पुग्दापनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक। भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउछौं, नसके जनता छन् । आआफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ तर यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका हुन् । तिनै जनताको ताकतको बलमा मतपत्र मार्फत हामी सुशासनको घन्टी बजाउँदै,विकास-कूटनीति र अर्थ- राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौँ।
गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानाे संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं ।
फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ। फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनु पर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन।
यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ। केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ। मात्र तपाईँको हातमा।
तपाईँको, रवि लामिछाने ।।


