काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिरहेको बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवाद सुरु गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सम्भावित चुनावी गठबन्धनका विषयमा ओली, देउवा र प्रचण्डले संवाद थालेका हुन् । स्रोतका अनुसार आइतबार ग्वार्कोको एक अपार्टमेन्टमा तीन नेताहरुविच छलफल भएको हो ।
नेकपा संयोजक प्रचण्डले पनि नेताहरुविच भइरहेको भेटको पुष्टी गरेका छन् । प्रचण्डले एक अन्तर्वार्तामा भनेका छन्, ‘ओलीसँग भेट भएको छ, कांग्रेस–एमालेसँग सहकार्य असम्भव छैन ।’ प्रचण्डले ओलीसँग निरन्तर संवादमा रहेको बताएका छन् । भनेका छन्, ‘केपी ओलीसँग कहिले फोनमा त कहिले प्रत्यक्ष भेटेर छलफल भइरहेकै छ।’
स्रोतका अनुसार प्रचण्डसँग ओलीले प्रचण्डलाई अन्य ठाउँमा सहयोग लिएर एमालेलाई झापा, दाङ लगायतका क्षेत्रमा एमालेलाई सहयोगका लागि प्रस्ताव राखेको थिए । जवाफमा संयोजक प्रचण्डले गठबन्धन केही सीमित क्षेत्रमै मात्र केन्द्रित हुनु नहुने धारणा राखेका थिए। उनले निश्चित क्षेत्र होइन, आवश्यकता र सम्भावनाका आधारमा देशव्यापी सहकार्यको ढोका खोल्नुपर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ। प्रचण्डको यो प्रस्तावपछि ओलीले त्यस ‘अप्सन’प्रति आफू खुला रहेको प्रतिक्रिया दिएको बताइएको छ।
प्रचण्डले आइतबार देउवासँग भेटर्वार्ता भएको बताएका छन् । भनेका छन्, ‘हिजो शेरबहादुर देउवाजीसँग भयो, आज गगन थापासँग पनि भइरहेकै छ । केपी ओलीसँग कुरा गर्दैमा जातै जाने भन्ने त होइन। कुरा सबैसँग भइराखेको छ र हुन्छ।’


