काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली कांग्रेसको जन्मभूमि भएको बताएका छन् ।
बुधबार सर्लाही(४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले मधेशले कांग्रेसलाई जन्म दिएको बताए ।
‘मधेश कांग्रेसको जन्मभूमि हो’, सभापति थापाले भने, ‘कांग्रेसलाई बनाएको, कांग्रेसलाई हुर्काएको र कांग्रेसलाई बलियो बनाएको यही धर्तीले हो ।’
उनले विगतमा भएका कमजोरी र गल्ती सुधार गर्ने सङ्कल्पसहित मधेश आएको बताए । ‘विगतमा हामीले थुप्रै गल्ती र कमजोरी गर्यौँ । ती गल्ती सुधार गर्ने सङ्कल्पसहित हामी मधेश आएका हौँ,’ उनले भने ।
अरूले के गरे भन्नेभन्दा कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा उनले जोड दिए ।
सभापति थापाले कांग्रेसले मधेशमै सभापतिलाई उम्मेदवार बनाएर निर्वाचनमा गएको उल्लेख गरे । उनले सर्लाहीका चार क्षेत्रसहित मधेशका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारले साथ र सहयोगको अपेक्षा गरेको बताए ।


