चितवन ।
विगतका निर्वाचन भन्दा यस पटकको प्रतिनिधिसभामा नयाँ युवा उमेदवार भएपछि मतदातामा उत्साह थपिएको छ ।
लामो समयदेखि एउटै र पुराना अनुहारका उमेदवार हुदा मतदातामा उत्साह कम भएको थियो । तर यस पटक पुराना राजनीतिक दलले नयाँ र युवा उमेदवार निर्वाचनमा उठाएपछि मतदाता छनौट गर्न उत्साह थपिएको हो ।
भरतपुर महानगरपालिका वडा नंं ११ का कमल घिमिरेले भन्नुभयो “सधै एउटै अनुहार उमेदवार भएर आउदा दिक्क लागेको थियो अहिले नयाँ अनुहारका उमेदवार आउनु भएको छ । कुसलाई मत दिने हो भन्ने कुरा छनौट गर्न पाइन्छ । त्यसैले भोट हाल्न खुसी लागेको छ ”
मनोनयन दर्ता गरेपछि अहिले उमेदवारहरु विभिन्न कार्यक्रम मार्फत मतदाताको घर दैलोमा जाने काम गर्दै आएका छन् । गाउँ टोल तथा अन्य गतिविधिमा उमेदवारहरुले सक्रियता वढाएका छन् । राजनीतिक दलहरुले निर्वाचनमा आफ्नो पार्टीका उमेद्वारलाई विजयी गराउनको लागि निर्वाचन परिचालन सकिति निर्माण गरेर जिम्मेवाी प्रदान गरेका छन् ।
नेकपा एमाले चितवनका अध्यक्ष कमजराज पाठकले तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन कमिटी निर्माण भएर तयारी गरेको जानकारी दिनुभयो । उहाले भन्नुभयो “ हामीले विभिन्न समिति उपसमिति निर्माण गरी योजनावद्ध रुपमा लागेका छौ । अव जिल्लामा एउटा ठुलो कमिटी निर्माण गरी सभ्य र भव्य रुपमा आफ्नो पक्षमा परिणाम आउने गरी तयारी गर्दै छौ ।”
नेपाली कम्यूनिष्ट पार्टीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले भन्नुभयो “ हामी अहिले निर्वाचन सम्पन्न गर्नको लागि मैदानमा उत्रेका छौ । हामी विपक्षी दल र विपक्षी उमेदवारलाई आरोप प्रत्यारोप लगाउने पक्षमा छैनौ । हाम्रा उमेदवारले गरेका राम्रा कामको प्रचार गछौ त्यसैले हाम्रो चुनावी एजेण्डा पूरा हुन्छ ।”
नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनालले अनुभवी समाजमा अलग्गै छाप छोडेका व्यक्तिलाई उमेदवार बनाएकाले हामीलाई अन्य विषयको प्रचार गर्न नपर्ने बताउनुभयो । “सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्नु भएका, राजनीतिमा जीवन विताएका, निरन्तर पार्टी र समाजको लागि काम गर्नु भएकाले व्यक्तिनै उमेद्वार हुनुहुन्छ त्यसैले मतदाताले भोट हाल्नेमा हामी ढुक्क छौ ” उहाले भन्नुभयो ।
अहिले दलहरू भेला र निर्वाचनको माहोल बनाउने काममा जुटेका छन् । दलले पहिलो पटक उमेदवारको टिकट युवालाई दिएपछि युवा मतदाता उत्साहित देखिएका हुन् । रत्ननगर नगरपालिका वडा नंं १० का युवा मतदाता केशव पौडेलले भन्नुभयो “सामाजिक सञ्जाल मार्फत उमेदवारले मत मागी राख्नु भएको छ । कसलाई जिताउने भन्ने अधिकार हामीलाई नै हुन्छ । युवाले अव देश हाक्नु पर्दछ त्यसैले हाम्रो मुद्दा उठाउने युवा उमेदवारलाई मत दिनेछु । ”
पहिलो पटक निर्वाचनमा सहभागी हुदै गर्नु भएका कालिका नगरपालिका वडा नंं ६ का अमित लामाले भन्नुभयो “हामीलाई रोजगारी आवश्यक छ । जसले रोजगारीको एजेण्डा उठाएका छन् र विश्वासिलो उमेदवार छ उसैलाइै मेरो मत हुनेछ ।” पहिलो पनि धेरै भोट माग्न आए तर हामी जस्ताको भावना वुझ्ने कोशिस गरेनन् त्यसैले अव राम्रो संग वुझेर मात्र भोट हाल्नेछु उहाले भन्नुभयो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये अधिकांश युवा मतदाता रहेका छन् । केही यस अघिनै उमेर पुगे पनि मतदाता नामावलीमा पहिलो पटक नाम दर्ता गराएकाहरू हुन ।
जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्, जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रोलिङगी छन् । यहाँ १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट मतदानको व्यवस्था गरिएको छ । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ जना मध्य ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् ।
यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र छ । क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रोलिङगी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्र रहेका छन् ।
क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एकजना तेस्रोलिङगी रहेका छन् । प्रतिनिधिसभामा विसं २०७९ मा चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।


