चितवन ।
क्षयरोग संक्रमण हुन नदिनकोलागि सञ्चालन भएको पाइलट कार्यक्रम प्रभावकारी वन्दै गएको छ ।
नेपाल सरकारले निगरानी गर्ने उद्देश्यले चितवन र प्युठानमा सञ्चालन यो कार्यक्रम प्रभावकारी वन्दै गएको हो । क्षयरोग संक्रमण भएका व्यक्तिको परिवारजनमा संक्रमण हुन सक्ने भन्दै तत्काल समस्या नदेखिएपनि रोग लाग्न सक्ने भन्दै उनीहरुमा औषधि सेवनको कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षबाट चितवन र प्युठान जिल्लामा कार्यक्रम चलेको छ ।
विराट नेपाल मेडिकल ट्रस्ट (बिएनएमटी नेपाल) र रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले आर्थिक सहयोगमा चलेको कार्यक्रमलाई नेपाल सरकारका स्वास्थ्य सस्थाले निगरानी र सहयोग गर्दै आएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न कार्यक्रम धेरै प्रभावकारी भएको जानकारी दिनुभयो ।
उहाले भन्नुभयो “रोग देखा नपरेको तर रोगीका परिवारका सदस्यमा संक्रमण भएकालाई औषधि खुवाइएको थियो । सुरुमा रोग नभएकोलाई किन औषधि खाने भन्ने डर हुन्छ की भन्ने लागेको थियो । तर त्यसो भएन कार्यक्रम चलाउन सजिलो भयो । ” शरीरमा रोगका जीवाणु भएर पनि लक्षण नदेखाएकाहरुलाई औषधि खुवान थालिएको थियो । यसले गर्दा भविश्यमा रोग लाग्न सक्दैन । यो कार्यक्रमले चितवन जिल्लामा धेरै सकरात्मक प्रभाव पारेको उहाले बताउनुभयो ।
स्वास्थ्य कार्यालय चितवनका क्षयरोग स्रोत व्यक्ति जयराम दुवाडीले यो कार्यक्रम अन्तर्गत चितवन र प्युठानमा करिब सातसय विरामी अहिले सहभागी भएको बताउनुभयो । गत साउन महिनाबाट सञ्चालन भएको कार्यक्रममा अझ विरामीको सङख्या वृद्धि गर्दै लैजाने तयारी भएको छ । रोगको प्रभाव देखाउनु अगाडिनै रोगी भएर औषधि सेवान गरेका व्यक्तिको परिवारका सदस्यलाई औषधि खुवाउदा भविश्यमा रोग लाग्न नपाउने भएकाले प्रभाकारी भएको बताउनुभयो ।
पाइलट कार्यक्रमका विषयमा दुइ जिल्लाका सहभागी भएर समिक्षा कार्यक्रम समेत आयोजना गरिएको छ । चितवनको सौराहामा भएको समिक्षा कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भूवन पौडेलले सरकारको महत्वाकाङक्षी लक्ष्यअनुरुप सुषुप्त क्षयरोगको परीक्षण, स्क्रिनिङ र प्रभावकारी उपचार भएको बताउनुभयो । उहाले यस कार्यक्र मार्फत सन् २०३५ सम्ममा क्षयरोगीको सङ्ख्या ३५०० भन्दा कम र सन् २०५० सम्ममा ५० भन्दा कम गरी लक्ष्य हासिल हुनेगरी काम गर्न आवश्यक भएको बताउनुभयो ।
अहिले पाइलट कार्यक्रम अन्तर्गत सञ्चालन भएपनि आगामी दिनमा स्थानीय तह र प्रदेशबीच समन्वय गरी क्षयरोग नियन्त्रणका लागि बजेट बढाएर ७७ वटै जिल्लामा कार्यक्रम अगाडि बढाउनु पर्नेमा उहाले जोड दिनुभयो । मेडिकल सिटीका रुपमा विकास भइरहेको चितवनमा ड्रग रेसिस्टेन्ट (डिआर) डिआर टिबी सेन्टर स्थापनाका लागि आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भयो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकास शाहले क्षयरोगको उपचार गरेर मात्र नहुने भन्दै पाँच वर्षमाथिको निवारक उपचार गर्नका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार नेपालमा आर्थिक वर्ष २०८१÷०८२ मा कुल ६७ हजार क्षयरोगी पत्ता लगाउनुपर्नेमा ३९ हजार १५१ जना मात्र पत्ता लागेको छ । ६० प्रतिशत मात्र उपचारको दायरामा आएको र डिआर टिबीका २४०० बिरामी पत्ता लाग्नुपर्नेमा ६२५ जना अर्थात् २५ प्रतिशत मात्र पत्ता लागेकोले क्षयरोग नियन्त्रणमा चुनौती बढेको बताउनुभयो । यस्तै, सुषुप्त अवस्थामा रहेको ल्याटिन टिबीका ४५ प्रतिशत बिरामी लुकेर रहेकाले उनीहरुको खोजी गरी उपचार गर्नुपर्ने छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख घिमिरेले योजना कार्यशालाबाट प्राप्त सुझाव अनुरुप कार्यान्वयनमा लाग्न तयार भएको बताउनुभयो । उहाले चितवनमा डिआर टिबी सेन्टर स्थापनाका लागि पनि आवश्यक पहल गरिदिन राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशकसँग अनुरोध गर्नुभयो ।
चितवनमा लागू भएको क्षयरोगको रोकथाममार्फत क्षयरोग अन्त्य गर्ने परियोजनाको विषयमा स्रोत व्यक्ति जयराम दुवाडीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दुवाडीले चितवनमा १२९ वटा स्वास्थ्य संस्था, १०७ वटा डट्स सेन्टर र तीनवटा डिआर सबसेन्टरमार्फत टिबीको उपचार भइरहेको बताउनुभयो ।
उहाका अनुसार चितवनमा आर्थिक वर्ष २०८१÷०८२ मा १०८९ जना सक्रिय क्षयरोगी दर्ता रहेका छन् । जसमा भरतपुर महानगरमा ५७०, रत्ननगर नगरपालिकामा १३४, राप्ती नगरपालिकामा १०६, खैरहनी नगरपालिकामा १०२, कालिका नगरपालिकामा ९१, माडी नगरपालिकामा ४८ र इच्छाकामना गाउँपालिकामा ३८ जना रहेका छन् । चितवनमा तीन प्रकारका क्षयरोगीले उपचार गराइरहेकामध्ये पिबिसी केसका ५९९, पिसिजी केसका २७१ र इपिसी केसका २१९ जना रहेको छ ।
कार्यक्रममा बिएनएमटी नेपालका प्रबन्ध निर्देशक रघु धितालले क्षयरोगको रोकथाम गर्ने लक्ष्य अनुसार उच्च जोखिममा रहेका ल्याटिन टिबीका १५०० जनालाई थ्रिएचपी औषधि, यातायात खर्चसहित उपचार गराउँदै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्युठानमा लागू भएको क्षयरोगको रोकथाममार्फत क्षयरोग अन्त्य गर्ने परियोजनाको विषयमा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय दाङका जनस्वास्थ्य प्रशासक डा. अच्यूत शर्मा, स्वास्थ्य मन्त्रालय बागमतीका योजना, मूल्याङकन तथा अनुगमन शाखा प्रमुख कपिल तिम्सिना, भण्डारा नगर अस्पतालका डा काजोल पाण्डेलगायतले सुझाव दिनु भएको थियो ।


