काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदान स्थलमध्ये ९२ प्रतिशतभन्दा बढी संवेदनशील सूचीमा रहेका छन् ।
कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाही(४ क्षेत्र पनि संवेदनशील सूचीमा छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा र विद्रोही उम्मेदवारका कारण चर्चामा रहेको यो क्षेत्र यस पटक थापाको आगमनसँगै बहस र चर्चाको केन्द्रमा छ।
२०७९ मा सर्लाही–४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहले जितेका थिए। कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए। यस पटक उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्।
जिल्लामा कुल ३१२ मतदान स्थलमध्ये १५८ वटा अति संवेदनशील र १३१ मतदानस्थल संवेदनशीलको सूचीमा छन्। बाँकी २३ मतदानस्थल सामान्य सूचीमा परेका छन्। सर्लाही(४ को ८१ मतदानस्थल अति संवेदनशील वा संवेदनशील सूचीमा छन्।
जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, नेपाल(भारत सीमा नजिकको स्थान, विगतका निर्वाचनमा दलबीच झडप र आपराधिक क्रियाकलापको आधारमा मतदानस्थल वर्गीकरण गरेको छ।
यसअघिको निर्वाचनमा जिल्लामा ३१८ मतदान स्थलमा ५९९ मतदान केन्द्र थिए। यस पटक ३१२ मतदान स्थलमा ६२८ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।


