भरतपुर महानगरमा स्मार्ट सिटीवारे बिज्ञसंग छलफल

चितवन, २९ फागुन

भरतपुर महानगरपालिकाले ‘स्मार्ट सिटी’ का लागि भइरहेको कार्यको विषयमा विज्ञहरुसँग आज छलफल कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा महानगरका जनप्रतिनिधि, परामर्शदाता र स्थानीय विज्ञहरु सहभागी हुनुभएको थियो ।

महानगर प्रमुख रेणु दाहालले नमूना स्मार्ट सिटी बनाउन काम भइरहेको बताउनुभयो । त्यसका लागि योजनाबद्ध ढङ्गले विकासका काम भइरहेको भन्दै उहाँले घरघरमा पुगेर सर्वेक्षकहरुले तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । विज्ञ समूहले शुरु गरेको सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन सकारात्मक रहेको भन्दै नगरप्रमुख दाहालले विज्ञ तथा सरोकारवालाहरूले दिएको सुझाव समेटेर अझै परिस्कृत गर्दै जाने बताउनुभयो । महानगर बृहद् गुरुयोजना निर्माणको चरणमा रहेको भन्दै उहाँले सबैको रचनात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

परामर्शदाता कम्पनी ग्रेड कन्सल्टेन्टका टोली नेता इञ्जिनीयर अरुणा तण्डुकार र वातावरणविद् निरोज तिमिल्सिनाले हालसम्मका प्रगतिबारे जानकारी दिनुभएको थियो । महानगरका तर्फबाट उपसचिव सिर्जना थपलियाले कार्यपत्र प्रस्तुत गर्दै महानगरको अपेक्षाका बारेमा जानकारी गराउनुभयो ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा तिलचन्द्र भट्टराई, शिक्षाविद् रमाकान्त सापकोटा, चिरञ्जीवी श्रेष्ठ, प्रेम रिमाल, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष चुमनारायण श्रेष्ठ, पर्यटन विकास समितिका महासचिव विश्व सुवेदी लगायतले सुझाव दिनुभएको थियो । महानगरपालिकाभित्र हालसम्म १२ हजार घरधुरीमा सर्वेक्षक पुगेर तथ्याङ्क लिइसकेका छन् । महानगरका इञ्जिनीयर अस्मिता खनालका अनुसार स्मार्ट सिटीका चार सूत्रलाई मध्यनजर गर्दै तयार गरिएको एक सय पेजको प्रश्नावली भर्ने काम भइरहेको छ । उहाँका अनुसार ३५ जना सर्वेक्षकले काम गरिरहेका छन् । एक सय जना सर्वेक्षक रहेकामा काम छोड्दै गएपछि घटेर ३५ मा झरेको हो । (रासस)

ताजा अपडेट