काठमाडौं, । एमाले सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले सरकारको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठेको बताउनुभएको छ ।
सचिव बस्नेतले सरकारले आफ्ना उद्देश्यअनुसार अघि बढ्नुपर्नेमा मूल उद्देश्यभन्दा बाहिर गएर काम गरिरहेको बताउनुभयो । गैरदलीय भनिएका सरकारका केही मन्त्रीहरूले चुनावी तयारी र दलीय गतिविधिमा संलग्न भएर काम गरेका भन्दै आपत्ति जनाउनु भएको छ । ‘निर्वाचनको संवेदनशील समयमा मन्त्रीहरूको गतिविधि र विदेश भ्रमणले नागरिक सरकारको विश्वसनीयता प्रभावित हुन सक्ने चिन्ता छ,’ सचिव बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
बस्नेतले कुलमान घिसिङ रास्वपाको उपसभापति बन्नुभएको र ३ वटा मन्त्रालयको महत्त्वपूर्ण बजेट व्यवस्थापन गरिरहेको विषयमा धारणा राख्दै यस प्रकारको गतिविधिले सरकारको प्राथमिकता र जिम्मेवारीप्रति ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
यसै गरी, केही मन्त्रीहरूले निर्वाचन तयारीका लागि सक्रियता देखाइरहेको विषयमा पनि सचिव बस्नेतले ध्यानाकर्षण भएको बताउनुभएको छ। ‘जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकार दाबी गर्ने असंवैधानिक सरकार आफ्नै मर्म विपरीत दिशातर्फ जाँदै छ, गैरदलीय भनिएका मन्त्रीहरू खुलेआम दलीय राजनीति र चुनावी तयारीमा लागेपछि सरकारको नैतिकता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ, निर्वाचनको संवेदनशील घडीमा मन्त्रीहरूको सत्ता–राजनीति र विदेश भ्रमणले नागरिक सरकारको विश्वसनीयता कमजोर बनाइरहेको छ, नागरिक सरकारको नाममा लाज पचाएर राजनीति चलिरहेको छ, कुलमान घिसिङ रास्वपाको उपसभापतिको पगरी गुथ्दै कुनै पार्टीको सदस्य होइन भन्ने दाबी गर्छन् र ३ वटा मालदार मन्त्रालयको करिब ६०% बजेट मा रजाइँ गर्दै छन् उता जगदीश खरेलहरू मन्त्रीको कुर्सीमै बसेर चुनाव लड्न खुट्टा उचाल्दै छन्, यो न नागरिक कर्तव्य हो, न नैतिक दाइत्व हो यो त सिधै सत्ताको दुरुपयोग हो’, बस्नेतले लेख्नु भएको छ ।


