काठमाडौँ । नेपाली कांग्रेसभित्र राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट प्रक्रिया लिएर असन्तुष्टि चुलिएको छ । नेता अर्जुननरसिंह केसी, महामन्त्री गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले फरक-फरक ढंगले पार्टीको निर्णयप्रति आपत्ति जनाएका छन्।
नेता केसीले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत उम्मेदवार छनोट गरिएको आरोप लगाए । बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग उनले पर्याप्त छलफल नगरी उम्मेदवारको नाम टुङ्ग्याइएको आरोप लगाए । ६०-४० को भागबण्डाका आधारमा सूची बनाइएको र आदिवासी जनजातिको प्रतिनिधित्व नहुनु दुःखद भएको उनको भनाइ छ।
केसीले भने, ‘राष्ट्रियसभाको प्रतिनिधि छान्ने सन्दर्भमा जुन खालको छलफल गर्यौँ, त्यसमा अहिलेसम्म दुःखद कुरा मैले भन्नैपर्दा कुनै व्यक्तिको विषयमा छलफल भएन । अहिले व्यक्तिको नाम प्रस्तुत सभापतिजीले गर्नुभयो । त्यसमा कुनै छलफल नहुनु सबैभन्दा दुख पक्ष हो ।’ महामन्त्री गगन थापाले पनि राष्ट्रियसभामा एमालेसँगको तालमेल र उम्मेदवार चयनको निर्णयप्रति फरक मत राखेका छन् । सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयमा उनले लिखित असहमति जनाएका हुन्।
‘आज राष्ट्रियसभा उम्मेदवार जसरी चयन गरियो यो केन्द्रीय समितिको पनि मानमर्दन भयो, संसदीय बोर्डको पनि मानमर्दन भयो,’ बैठकपछि थापाले भने, ‘त्यसैले मैले लिखित रूपमा फरक मत राखेँ ।’ उनले कार्यसम्पादन समिति बैठकले गरेको निर्णयको स्वामित्व नलिने पनि बताए। एमालेसँग तालमेलको सैद्धान्तिक आधार स्पष्ट नभएको उनको भनाइ छ।
यता अर्का महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारी छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन समिति बैठक बहिस्कार गरेका छन् । उनले मंगलबार र बुधबार बसेका बैठकमा सहभागी नहुने जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गराएका थिए । उम्मेदवारी छनोटका लागि स्पष्ट मापदण्ड नबनाई पुरानै ६०-४० को भागबण्डाका आधारमा नाम टुङ्ग्याइएको प्रक्रियाको साक्षी बन्न नसक्ने शर्माको भनाइ छ। कांग्रेसका एक पदाधिकारीका अनुसार शर्मा दुवै बैठकमा सहभागी भएका थिएनन् ।


