काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
विशेष महाधिवेशनको माग गर्दै प्रस्ताव दर्ता गरेका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले काठमाडौँको नयाँबानेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं।’
विशेष महाधिवेशन पक्षधरका अनुसार पुस २७ गते भृकुटीमण्डपमा उद्घाटन हुनेछ । महाधिवेशन सञ्चालनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । विशेषका लागि सचिवालयले शान्ति सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको जनाएको छ। भृकुटीमण्डप यसअघि नै बुकिङ गरिएको पनि पक्षधरले बताएका छन्। नेपाली कांग्रेसमा पछिल्लो समय देखिएको आन्तरिक विवादका बीच विशेष महाधिवेशन आह्वान गरिएको हो। विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले पत्रकार सम्मेलन गर्दै दुईदिने विशेष महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नरहेको जनाएको छ। तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने जनाएको छ। यसैबीच, नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरेका छन् । विशेष महाधिवेशनका लागि हालसम्म १८ उपसमिति गठन गरिएकोमा त्यसको संयोजक पनि तोकिएको हो ।


