खैरहनी, फागुन २९ ।
पूर्वी चितवनमा रहेको खैरहनी नगरपालिकाले लागु गरेको बाख्रा पकेट प्याकेज कार्यक्रमको बुधवार अनुगमन गरिएको छ । नगरपालिकाले गत वर्षदेखी वाख्रा पकेट प्याकेज कार्यक्रम सुरुवात गरेको थियो । गत वर्ष नगरका तीन वटा वडामा आयोजित कार्यक्रमको प्रभावकारीता बारे अनुगमन गरेको हो ।
नगरपालिकाले खैरहनी वडा नम्वर २,५ र १२ का विपन्न समुदायलाई लक्षित गरि उनीहरुको आयआर्जनका लागि वाख्रापालनका लागि अनुदान दिएको थियो । वडा नम्वर २ को सिंगापुर डाँडा,वडा नम्वर ५ को दुर्गा मन्दिर क्षेत्र र वडा नम्वर १२ को सुन्दरवस्तीका विपन्न परिवारमा समुह गठन गरेर प्याकेज कार्यक्रम लागु गरेको नगरपालिकाको पशु सेवा शाखा प्रमुख रुद्र श्रेष्ठले जानकारी दिए । २०,२० जनाको समुह वनाएर वाख्रा खरिदका लागि प्रति परिवार आठ आठ हजार र समुहका पाँच जनालाई खोर वनाउन अनुदान दिएको श्रेष्ठले वताए । विपन्न समुदायलाई केन्द्रित गरेर संचालन गरेको बाख्रा पकेट प्याकेज कार्यक्रम प्रभावकारी देखिएको अनुगमनपछि खैरहनीका मेयर लालमणी चौधरीले वताए ।
पकेट प्याकेट कार्यक्रमबाट सन्तुष्ठी प्राप्त गरे मेयर चौधरीले भने – यही हिसावमा अवको ४,५ वर्षमा उनीहरु व्यवसायिक वन्ने छन् । अनुगमनमा मेयर चौधरीसहित प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,खैरहनी १० का वडाध्यक्ष एवंम् आर्थिक विकास समिति संयोजक कारीराम चौधरी,पशु सेवा शाखा प्रमुख श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । खैरहनीले गत वर्ष वाख्रा पकेट प्याकेज कार्यक्रमका लागि १० लाख रुपैया विनियोजन गरेकोमा चालु आर्थिक वर्षका लागि पनि सोही वरावरको वजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।