चितवन । उद्योग वाणिज्य संघ चितवनको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र ओलीले संघलाई अझ सशक्त, पारदर्शी र सदस्य–मैत्री संस्थाको रूपमा रूपान्तरण गर्ने स्पष्ट दृष्टिकोण सार्वजनिक गरेका छन्। सामूहिक लाभ, समावेशी नेतृत्व र चितवनको समग्र आर्थिक विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै ओली चुनावी मैदानमा उत्रिएका हुन्।
उम्मेदवारी घोषणा कार्यक्रममा ओलीले चितवनको व्यापार, उद्योग तथा सेवाक्षेत्रलाई संगठित र प्रतिस्पर्धी बनाउँदै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने दीर्घकालीन योजना प्रस्तुत गरे।
“उद्योग वाणिज्य संघ कुनै एक व्यक्ति वा समूहको होइन, सम्पूर्ण सदस्यको साझा संस्था हो,” उनले भने, “सबै सदस्यको आवाज सुन्ने, समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने र संघको गरिमा तथा विश्वसनीयता थप उचाइमा पुर्याउने मेरो दृढ संकल्प छ।”
ओलीले निजी क्षेत्र र सरकारी निकायबीच प्रभावकारी समन्वय स्थापना गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने, नयाँ लगानी आकर्षित गर्ने र रोजगारीका अवसर विस्तार गर्ने योजनालाई विशेष प्राथमिकतामा राखेका छन्। साथै, युवा उद्यमीलाई प्रोत्साहन गर्ने, नवप्रवर्तनमा आधारित व्यवसायलाई समर्थन गर्ने तथा साना तथा मझौला व्यवसायलाई संस्थागत रूपमा मजबुत बनाउने कार्यक्रम अघि सार्ने प्रतिबद्धता व्यक्त गरे।
संघका सदस्यहरूको हकहित संरक्षण, नीतिगत सुधारका लागि सशक्त पहल, कर, श्रम र बजारसम्बन्धी व्यावसायिक समस्याको समाधानमा संघलाई सक्रिय र प्रभावकारी बनाउने ओलीको भनाइ छ।
“नेतृत्व पाएमा उद्योग वाणिज्य संघ चितवनलाई जिल्लाको आर्थिक विकासको प्रमुख साझेदार र उद्यमीहरूको भरपर्दो अभिभावक संस्थाका रूपमा स्थापित गर्नेछु,” उनले आत्मविश्वासका साथ दाबी गरे।


