शालिग्राम नेपाल ।
चितवन ।
पृथ्वीमा भएको जनावर मध्य सबैभन्दा ठुलो हात्ती । यही हात्तीको प्रमुख वासस्थान चितवन निकुञ्ज र यसको आसपास हो । हात्तीकै कारण चितवनको पर्यटन विकासमा सकरात्मक प्रभाव परेको छ ।
पश्चिम चितवनको मेघौली अन्तरराष्ट्रिय हात्तीपोलो खेलकै कारण विश्वमा परिचित भएको थियो । पशु अधिकारको आवाज उठेपछि करिव १० वर्ष भन्दा अगाडिबाट हात्तीपोलो खेल बन्द भएको छ । मेघौलीमा हात्तीपोलो खेल वन्द भएपछि मेघौलीमा पर्यटनका गतिविधिमा कमी आएको छ । निकुञ्ज भित्रको टाइगर टप्स वन्द हुने, हात्ती पोलो वन्द हुने भएपछि यहाँको विमान स्थल समेत बन्द भएको छ । हात्तीपोलो खोल वन्दबाट सुरु भएको पर्यटकीय गतिविधि विस्तारै अन्य समेत बन्द भएपछि यहाँको पर्यटकीय चहलपहलमा समेत भारी प्रभाव परेको छ ।
मेघौलीमा हात्तीपोलो वन्द भएपछि पर्यटकीय नगरी सौराहामा हात्ती दौड तथा सुन्दरी प्रतियोगिता सञ्चालन भएको छ ।
हरेक वर्ष सञ्चालन हुदै आएको हात्ती महोत्सव मार्फत हात्तीलाई दौडाउन नहुने, खेल खेलाउनै नहुने भन्दै विरोध सुरु भएको छ । यही पुस ११ गतेबाट हुने हात्ती महोत्सवको पशु अधिकारकर्मीले विरोध गर्दै आएका छन् । तर तर विज्ञहरु भने हात्तीलाई समान्य दौडमा सहभागी गराउदा, फुटवल खेलाउदा कुनैपनि नकरात्मक प्रभाव नपर्ने उताउछन् ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व पशुविज्ञ डाक्टर कमल गैरेले भन्नुभयो “केही काम नगरी राख्ने हो भने हात्तीको स्वास्थ्य खराब हुन्छ । हात्तीलाई फुटवल खेलाउदा, दौडाउदा उसको शरीरमा उर्जा आएर व्यायाम हुने भएकाले यो अझ राम्रको कार्य हो ।” निकुञ्जमा ३० वर्ष हात्ती विज्ञका रुपमा काम गर्नू भएका डाक्टर गैरेले दैनिक सयौ किलोमिटर हिड्ने, भारी बोक्ने, काम गर्ने गर्दा उसलाई स्वास्थ्यमा कुनैपनि प्रतिकुल प्रभाव नपर्ने बताउँनुहुन्छ । हात्तीको कारण पर्यटनको विकास भएको छ । यदी हात्तीको स्वास्थ्यमा नकरात्मक प्रभाव पर्ने हो भने हामीले त्यसको विरोध गर्दछौ तर हात्ती महोत्सवमा हुने गतिविधिले कुनै असर नपर्ने उहाँको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व पशु चिकित्सक तथा हात्ती विज्ञ डाक्टर विजयकुमार श्रेष्ठले निकुञ्जको सुरक्षार्थ हात्तीले धेरै काम गर्ने भएकाले महोत्सवमा हुने गतिविधि सामान्य भएको बताउनु हुन्छ । “हात्तीलाई फुटवल खेलाउने सामान्य दौडाउने कार्यले उसलाई अझ स्फूर्ती आउने हुन्छ” श्रेष्ठले भन्नुभयो “एउटा हात्तीले तीन चारजना मानिस बोकेर गस्ती गर्छ, धेरै किलोमिटर हिड्छ । फेरी घाँस दाउरा, मानिस बोकेर हिड्छ । समान्य फुटवल तथा खेल खेलाउनु भनेको कुनै याताना हुदैन ।”
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले ठुलो शरीर भएको जनावार भएकाले सामान्य गतिविधि गर्दा कुनै असर नपर्ने बताउँनुहुन्छ । उहाले भन्नुभयो “हात्ती दोड तथा महोत्सवमा हुने गतविधिको विषयमा अध्ययन टोली बनाएर यथार्थ विवरण ल्याएमा अहिले भइराखेको विवाद अन्त्य हुनेछ ।” हात्ती महोत्सव तथा अन्य पर्यटकीय गतिविधिमा सरकारी हात्ती प्रयोग गरिएको छैन । प्रमुख पन्तले भन्नुभयो “निजी हात्ती प्रयोग हुने गतिविधिमा स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको देखिएको छैन । स्वास्थ्यमा असर हुने गरी, दवाव दिएर खेलाउन भने हुदैन ।”
वर्दिया निकुञ्जका प्रमुख तथा हात्ती विज्ञ डाक्टर अशोक रामले नेपालमा हात्तीलाई याताना हुने जस्ता गतिविधि नभएको बताउनुभयो । हात्तीसंग सम्वन्धीत भएका खेल तथा कार्य जनावर मैत्री नै भएकाले अधिकारको विषय उठाउदा भएका गतिविधिको अध्ययन गर्द अधिकारकर्मीलाई उहाँले सुझाव दिनुभयो । खेलकुदका कार्यमा सहभागी गराउदा हात्तीमा कुनैपनि असर पर्दैन उहाले भन्नुभयो कुनै याताना भने दिन हुदैन ।
पर्यटन विज्ञ डा.प्राध्यापक विश्व सुवेदीले मेघौलीको हात्तीपोलो वन्द भएपछि यहाँको पर्यटनमा अतुलनीय क्षती पुगेको बताउनुहुन्छ । टाइगर टप्सलेनै जङगल सफारीको सुरुआत गरेको थियो । अहिले पोलो पन्द गराएपछि विमान स्थल वन्द भयो । यहाँको पर्यटन २० वर्ष अगाडिको जस्तो चहलपहल बनाउन सकेका छैनौ उहाले भन्नुभयो । यहाँको पहिचान भनेकै हात्ती हो । हात्तीलाई संरक्षण गर्दै उसैको गतिविधिलाई देखाएर पर्यटन क्षेत्रको विकास गर्नु पर्दछ ।
क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले पशु अधिकारकर्मीको विरोधका कारण हामीले धेरै गतिविधिमा सुधार गरेर अहिले हात्ती प्रर्दशन मात्र गर्ने कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । उहाले भन्नुभयो “सुन्दरी प्रतियोगिता, भोज, फुटवल जस्ता सामान्य कार्यक्रम आयोजना गरेका छौ । हात्तीलाई कुनैपनि पिडा दिने कार्य नगर्दापनि विरोध भएकोमा चिन्ता लागेको छ ।”
क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले हात्ती महोत्सवलाई परिस्कृत गरी हात्तीलाई सुविधा हुने गतिविधि मात्र समावेस गरिएको जानकारी दिनुभयो । सौराहा र समग्र चितवनको पर्यटनको पहिचान नै हात्ती र यसको गतिविधि भएकाले हामीले यसैको प्रचार गरेर पर्यटनको विकास गर्नु पर्ने बताउनुभयो । सौराहाको बाघमारा चौरमा यही ११ गतेदेखि हात्ती महोत्सव आयोजना हुदैछ ।


