काठमाडौँ ।अपराजित यात्रालाई कायम राख्दै चितवन राइनोजलाई ४९ रनले पराजित गरेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउन उत्रिएको चितवन १७.१ ओभरमै सबै विकेट गुमाएर १२० रनमा समेटियो ।
सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर एक बलमा १२० रनमा अलआउट भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए । देव खनाल २८, अर्जुन साउद १६, डेभिड मलान ६, सैफ जैव ६, कप्तान कुशल मल्ल १५, अमर रौटेला ९, जर्ज स्क्रिम्श ०, कमलसिंह ऐरी ६ र रिजन ढकाल २ रनमा आउट भए । रञ्जित कुमार १ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका पुनित मेहराले ३, कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इसान पाण्डेले एक/एक विकेट लिए ।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । उनी रिटाइर्ड हर्ट भए । लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख दुवै २४/२४ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइवले २, रञ्जित कुमार र जर्ज स्क्रिम्शले एक/एक विकेट लिए ।
यस जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोड्दै लिग चरणको पहिलो स्थान सुरक्षित गर्दै प्लेअफको पहिलो क्वालिफायरमा स्थान बनाएको छ।
सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्सले पनि प्लेअफमा स्थान बनाएको छ। विराटनगरले ६ खेलबाट ८ अंक बटुल्दै अन्तिम चारमा यात्रा सुनिश्चित गरेको हो।
हालसम्म सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफमा पुगिसकेका छन् । बाँकी एक स्थानका लागि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतिस्पर्धामा रहनेछन् । कर्णाली याक्स भने प्रतियोगिताबाट बाहिरिइसकेको छ।


