महेन्द्र राजमार्गको टिकौली जङ्गलमा जनावर मैत्री फ्लाइओभर बन्ने

 

चितवन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर र रत्ननगर जोड्ने निकुञ्जको करिडोरमा जनावर वारपार गर्न फ्लाइओभर निर्माण गरिने भएको छ । नारायणगढदेखि पथलैयासम्मको राजमार्ग विस्तारका क्रममा चितवन निकुञ्जको करिडोर क्षेत्रमा फ्लाइओभर बन्न लागेको हो । सडक विस्तारको लागि धेरै वर्षदेखि तयारी भएपनि यसले पूर्णता पाएको थिएन ।
आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले नारायणगढ–हेटौंडा सडकखण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यही सडक विस्तार तथा स्तरोन्नतीका क्रममा निकुञ्जका जनावर वारपार गर्नको लागि फ्लाइओभर निर्माण गर्न लागिएको उहाले बताउनुभयो ।
सडक विस्तारको लागि केही हप्ता भित्रै ठेक्का आह्वान गर्ने तयारीमा रहेका छौ निर्देशक ढकालले भन्नुभयो “एसियाली विकास बैंक (एडीबी) को सहुलयितपूर्ण ऋणमा मुख्य सडक चार लेन र बजार क्षेत्रमा सर्भिसलेनसहित ८ लेन सडक बनाइने छ ।” नारायणगढदेखि पथलैयासम्म स्तरोन्नती हुने सडकको पहिलो चरणमा गोन्द्राङसम्म करिब ७ किलोमिटर निर्माण भैसकेको छ । एक सय किलोमिटर रहेको यो सडकखण्डको बाँकी रहेको क्षेत्रमा अव नयाँ ठेक्का लगाएर निर्माण हुने निर्देशक ढकालले बताउनुभयो ।
यसै क्रममा फ्लाइओभर पुल निर्माण आवश्यक भएकाले यसको तयारी भएको छ उहाले भन्नुभयो । नेपालको लागि यो नयाँ प्रयोग हुनेछ । दुई किलोमिटर लामो आकर्षक फ्लाइओभर निर्माणका लागि करिब सात अर्ब रुपियाँ लाग्ने अनुमान गरेका छौ उहाले भन्नुभयो । ढकालका अनुसार फ्लाइओभर ३–३ लेनको बन्नेछ । दुवैतर्फ १–१ लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने खालको बन्नेछ । बाँकी चार लेनमा २–२ लेनमा दुवैतर्फ सवारी ओहरदोहोर गर्नेछन् । पुल निर्माण भएपछि नयाँ पर्यटकीइ क्षेत्र वन्ने छ उहाले भन्नुभयो ।
फ्लाइओभरमा माथिबाट सवारीसाधन गुड्नेछन् । त्यसको तलबाट वन्यजन्तु ओहरदोहोर गर्नेछ । वन्यजन्तुको सुरक्षाका लागि निर्माण गर्न लागिएको हो । यस क्षेत्रमा दैनिक करिब २० हजार सवारी साधन गुड्ने गर्दछन् । तिब्र रुपमा सवारी साधन सञ्चालन हुदा यहाँ वन्य जन्तु साधनको ठक्करबाट मर्ने गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले सडक विस्तारको क्रममा फ्लाइओभर निर्माण गर्न आवश्यक पहल गरेको जानकारी दिनुभयो । उहाले भन्नुभयो “ करिब दुइ किलोमिटर लामो पुल बन्नेछ । पुल वन्ने सुनिश्चित नहुदासम्म सडक विस्तारको काम हुदैन । फ्लाइओभर निर्माणको लागि सुनिश्चित भएको कारण विस्तारको काम अगाडि वढेको हो ।”
पथलैया हेटौंडा नारायणगढ सडक अन्तर्गत पहिलो चरणमा टिकौली जङ्गल र अर्को चरणमा अमलेखगञ्ज आधावार वन क्षेत्रमा फ्लाइओभर बन्ने उहाले बताउनुभयो । “फ्लाइओभर वन्ने भएन भने सडक विस्तारको काम अगाडि व्दैन त्यसैले फ्लाइओभर बन्ने सुनिश्चित भएको हो ” आचार्यले भन्नुभयो ।
यस क्षेत्रको सडकखण्ड स्तरोन्नतीका लागि अहिले वातावरणीय प्रभाव मूल्याङकन (ईआईए) को काम अन्तिम चरणमा पुगेको छ । यस सडकखण्डको विस्तारमा एडीबीले करिब तीन अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने समझदारी भएको आयोजना निर्देशक ढकालले जानकारी दिनुभयो ।
टिकौली जङ्गलमा वन्ने फ्लाइओभर पुलले चितवनमा नयाँ पर्यटकीय क्षेत्रको विकास हुने क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी सुमन घिमिरेले बताउनुभयो । उहाले भन्नुभयो “यस प्रकारको पुल नेपालमा पहिलो हो । विदेशमा प्रयोग भइसकेको यस्ता संरचना उपयोगी हुने छ । ” चितवन आउने आन्तरिक तथा वाह्य पर्यटकलाई यो पुलले नयाँ स्वाद दिनेमा आफू विश्वस्त भएको उहाले बताउनुभयो ।
पर्यटन विज्ञ डाक्टर विश्व सुवेदीले टिकौली जङ्गलमा वन्ने फ्लाइओभरले जनावर पास मात्र गर्ने होइन चितवनको आर्थिक विकासमा योगदना समेत दिने बताउनु भयो । उहाले चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको तथ्यलाई यसले उजागर गर्ने बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट