काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले ‘नेपाली कम्युनिष्ट पार्टी’ का नेताहरूलाई थाकेका, गन्हाएका अनुहार भनि कटाक्ष गरेका छन् ।
उनले दश वाम दलको एकता लामो समय नटिक्ने दाबी गरेका छन्। उक्त एकता आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावसम्म टिक्यो भने ठूलो कुरा हुने लेखनाथको टिप्पणी छ ।
बुधबार एकता सम्मेलन गरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दश कम्युनिस्ट घटक मिलाएर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ। जसमा माओवादी केन्द्रका संयोजक प्रचण्ड संयोजक र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक बनेका छन्। ‘ओछ्यानमा बसेर भिडिओ हेरेपछि।।।पिँध नभाका लोटा, अनुहार कुच्चिएका, पानीका लौरा, पिङ खेल्दाखेल्दा थाकेका, गनाएका नाम मञ्चमा’, न्यौपानेले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘यसो हेरेको सबै दाने गाईजस्ता, फुकाएपछि आआफ्नै बाटो लाग्ने, फागुन २१ सम्म रहे ठुलो कुरो। नहुनुभन्दा जस्तो भएनि मामा मामै हो, चित्त बुझाउने मेसो। एउटा नयाँ कुरो टाई लगाउन बिर्सेका रहेछन् मान्छेहरूले आज।’


