चितवन ।
नारायणी नदी किनारमा मङगलबारदेखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु भएको छ ।
चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा महोत्सव सुरु भएको हो । मङ्सिर २ गतेसम्म चल्ने महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको छ । काठमाडौंबाट भरतपुरका लागि उडानमा ढिला हुँदा मुख्यमन्त्री भौतिक रुपमा उपस्थित हुन नसकेका हुन् । भर्चुअल माध्यमबाट जोडिदै मुख्यमन्त्री बानियाँले महोत्सवको सफलताको कामना गर्नु भएको थियो । यो महोत्सवले खेलकुदलाई पर्यटनसँग जोड्न मद्त मिल्ने उहाले बताउनुभयो । ।
आयोजक चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले पहिलो दिन शोभायात्रामा देखिएको सहभागिताले उत्साहित बनाएको बताउनुभयो। उहाँले महोत्सव सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
महोत्सवको उद्घाटन अघि झाँकीसहितको शोभायात्रा निकालिएको थियो । उद्घाटनको अवसरमा विभिन्न खेलको डेमोन्स्ट्रेसन प्रस्तुत गरिएको थियो । महोत्सवमा व्यापारिक, कृषि, नेपाली उत्पादन, खाजालगायतका लागि ३ सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव परिसर भित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माण गरिएको छ । दर्शकहरुले मुख्य प्रवेशद्धारमा टिकट लिएपछि लन्डन ब्रिज चढेर भित्र प्रवेश गर्नेछन् ।
महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । महोत्सवमा बिच भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ । यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ ।


