दोलखा ।
दोलखाको गौरीशंकर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परी दुई जना नेपाली गाइडको मृत्यु भएको छ भने पाँच जना विदेशी पर्वतारोही अझै बेपत्ता रहेका छन् ।
हिमपहिरोमा परि घाइते भएका आठ जनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । मृतक दुबै जना नेपाली गाइड रहेको प्रहरी प्रमुख महतोले बताउनुभयो । मृतक मध्ये एक जना ड्रिमर्स ट्रेक्सका गाइड पदम तामाङ र अर्का सोलुखुम्बु दुधकोशी गाउँपालिका–५ का हिमालयन ट्रेक्सका गाइड मेरा कार्की रहेका छन् ।
उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएको प्रमुख महतोले बताउनुभयो । उद्धार गरिएका घाइतेहरूमध्ये चार जना सामान्य उपचारपछि घर फर्किएका छन् । दुई जना विदेशी नागरिक काठमाडौं स्थित ह्याम्स अस्पतालमा र अन्य दुई जना इरा इन्टरनेशनल अस्पतालमा उपचाररत छन् ।
बेपत्ता रहेका पाँच जना विदेशी पर्वतारोहीहरू क्रमशः इटालियन नागरिक पाओलो कोको, क्यानाडाली नागरिक मार्को डी मार्सेलो, फ्रान्सेली नागरिक म्यानफ्रेडी क्रिस्टियन एन्ड्रे, इटालियन नागरिक मार्कस किर्चलर र जर्मन नागरिक याकब श्रेइबर रहेका छन् ।
गत कार्तिक ११ गते १५ जना नेपाली र विदेशी नागरिकहरू मिलेर विभिन्न समूहमा ५६३० मिटर उचाइमा रहेको यलुङ रि हिमाल आरोहणका लागि गोरीशंकर गाउँपालिका–९, रोल्वालिङ क्षेत्र पुगेका थिए ।
सोमबार बिहान करिब ४ बजे बेस क्याम्पबाट आरोहणका लागि प्रस्थान गरेका उनीहरू करिब ८ बजे हिमालको चुचुरो पुग्ने क्रममा हिमपहिरोमा परेका थिए । उद्धार कार्य निरन्तर जारी रहेको र स्थानीय प्रतिनिधिहरूको सहयोगमा बेपत्ताहरूको खोजी कार्यलाई तिव्र बनाइएको जिल्ला प्रशासन कार्यालयले दोलखाले जनाएको छ ।


