चितवन ।
समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय भरतपुरले कार्वाहीको तयारी थालेको छ । पटक पटक ताकेता गर्दा समेत निर्माणको काम सम्पन्न नगरेका पाँच वटा ठेक्का निर्माण कम्पनीलाई कार्वाही किन नगर्ने भनी सूचना प्रकाशित गरेको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले कार्यालय अन्तर्गत रहेका विभिन्न पाँच वटा क्षेत्रमा निर्माणको ठेक्का पाएका कम्पनीले समयमा काम नगरेपछि कार्वाही प्रकृया अगाडि वढाएको जानकारी दिनुभयो । “धेरै पटक हामीले काम गर्नको लागि समय दियौ तर वास्ता नगरेपछि कार्वाहीको लागि प्रकृया अगाडि बढाएका हौ” उहाले भन्नुभयो “सूचना प्रकाशित भएपछि काम सम्पन्न गर्ने प्रतिवद्धता सहित प्रकृयामा आएमा कार्वाही रोकिने छ, तर वेवास्ता गरे कालो सूचीमा राखेर कार्वाही अगाडि वढ्छ ।”
कार्यालयका अनुसार खरिद सम्झौतावामेजिम काम नगरेको, निर्माण काम सुरु गरेपनि जानकारी विना लामो समयदेखि सम्पर्कमा न आएको, निर्माण गर्दा गर्दै बिचैमा काम छाडेको, कार्यातालिका अनुसारको प्रगती नभएको, सम्झौता वोमजिम कार्य सम्पादन नभएको भन्दै सात दिने म्याद दिएर सूचना प्रकाशित गरेको कार्यालय प्रमुख लामिछानेले बताउनुभयो ।
ठेक्का सम्झौता भएर काम नगरेको योजनाहरुमा भरतपुर महानगरपालिकाको चक्रपथ, भरतपुर महानगरपालिका वडा नंं २७ मा निर्माण हुदै गरेको वेतरी खोला पुल, भरतपुर माडी सडक, पूर्वी चितवनको वीरेन्द्रनगरमा रहेको पम्फा खोला पुल, र भरतपुरको वाइपास सडक रहेका छन् । यी योजना अहिलेसम्म पूरा हुन सकेको छैन ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले भरतपुर महानगरपालिकामा निर्माण हुदै गरेको चक्रपथको काम अहिलेसम्म ३२.७१ प्रतिशत, वेतरी खोला पुलको प्रगती १३.७६ प्रतिशत, भरतपुर माडी जाने सडक ५७.२५ प्रतिशत, पूर्वी चितवनको वीरेन्द्रनगरमा रहेको पम्फा खोलाको पुल ७९.९२ प्रतिशत र भरतपुरको वाइपास सडकको काम ८९.८० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो ।
भरतपुर चक्रपथ, वेतनी खोला पुल र भरतपुर माडी सडकको निर्माण जीएमआर कन्ट्रक्सन नेपाल प्रालिले ठेक्का पारेको थियो । पूर्वी चितवनको वीरेन्द्रनगरमा रहेको पम्फा खोलाको पुलको ठेक्का लोहनी एण्ड व्रदर्श प्रा.लि भरतपुर र भरतपुर वाइपास सडकको निर्माण गौरी पार्वती निर्माण सेवाले ठेक्का पारेको थियो । यी सवै निर्माण कम्पनीलाई कार्वाहीको प्रकृया अगाडि वढाएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।
ठेक्का मध्य भरतपुरको वाइपास सडकको काम करिब अन्तिम चरणमा पुगेको, मर्मत नगरेको थोरी बाँकी रहेको कामलाई वेवास्ता गरी छाडेको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । धेरै पटक म्याद थप गरेर काम गर्ने मौका दिदा समेत अटेर गर्ने निर्माण कम्पनीलाई किन कार्वाही नगर्ने भनी कार्यालयले प्रकृया अगाडि वढाएको हो । चार किलो मिटर लम्वाइ रहेको भरतपुरको वाइपास सडक १० वर्ष अगाडिबाट निर्माण कार्य सुरु भएको थियो । अहिलेसम्म निर्माण पूरा भएको छैन ।
कार्वाहीको प्रकृया अगाडि बढेका योजनाहरु कम्तीमा ५ अगाडिबाट र १० वर्ष अगाडिबाट काम सुरु भएको थियो । तर अहिलेसम्म निर्माण पूरा भएको छैन । निर्माण पूरा नभएको योजनाहरु अलपत्र परेका छन् । कतिपय योजना काम सुरु भएको र निर्माण पूरा नहुदै भत्केर काम नलाग्ने अवस्थामा पुगेको छ । निर्माण योजना पूरा नहुदा स्थानीय आक्रोशित भएका छन् ।


