चितवन ।
यस वर्षको वर्षातमा चितवन राष्ट्रिय निकुञ्ज भित्र अनुमान गरेको भन्दा कम क्षती भएको पाइएको छ ।
मौसम विज्ञान विभागले सार्वजनिक गरेको वर्षा र त्यसले पार्ने असरको विषयमा निकुञ्ज भित्र वन्यजन्तुको वासस्थान र अन्य संरचनामा क्षती हुने अनुमान गरिएको थियो । तर अनुमान भन्दा कम क्षती भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले बताउनुभयो ।
“मौसमको अवस्थालाई हेर्दा वन्यतन्तुको वास स्थानदेखि उनीहरुको सुरक्षा र भौतिक संरचनाको विषयमा समेत प्रभाव पार्छ भन्ने लागेको थियो यस्तो भएन” प्रमुख पन्तले भन्नुभयो “निकुञ्जको पश्चिम क्षत्रमा पर्ने दुइ वटा पोष्टमा भारी वर्षाले असर पारेपछि हामीले त्यसलाई अन्यत्र सार्नु परेको छ ।” उहाँका अनुसार भुताहा र मधुवनको सुरक्षार्थ पोष्टमा वस्न सक्ने अवस्था नभएपछि अन्यत्र सारिएको छ । भत्केको स्थानलाई मर्मत गरी स्थापना गर्ने कार्य छिटो हुन उहाले जानकारी दिनुभयो ।
निकुञ्ज भित्रका ५७ वटा पोष्टहरु रहेकोमा अहिले दुइ वटा पोष्ट भत्केपछि त्यसलाई अन्यत्र गाभिएको हो । पूर्वको तुलनामा पश्चिममा क्षती पारेको छ । प्रमुख संरक्षण अधिकृत पन्तका अनुसार पश्चिमको टाइगर टप्सभन्दा पश्चिम जङगलर सफारीको लागि निर्माण गरिएको बाटो भत्काएको छ भने रुख लडेर बाटो अवरुद्ध भएको छ । त्यस्तै गरी निकुञ्जको गस्ती टोलीले गर्ने निगरानीको सडकलाई पनि वर्षातले असर पारेको उहाले बताउनुभयो । निकुञ्जको मुख्य कार्यालय रहेको कसरादेखि पूर्व तर्फको जङ्गल सफारीलाई सञ्चालनमा ल्याइएको छ । तर पश्चिममा असर पारेकाले सञ्चालनका लागि केही समय लाग्ने उहाले बताउनुभयो ।
वाढीले केही असर पारेपछि चाडवाढको अवस्थालाई ध्यान दिएर निकुञ्जको सुक्षार्थ विशेष निगरानी वढाइएको प्रमुख संरक्षण अधिकृत पन्तले बताउनुभयो । उहाँका अनुसार वन्यजन्तु संरक्षणका लागि बनाईएका समुदाय स्तरका क्लबहरुलाई सचेतना जगाइएको छ । आधुनिक क्यामराको प्रयोग गरी निगरानी राखिएको छ ।
९५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा हरेक वर्ष दसैं तिहार चाडपर्वको समयमा तस्करहरु आउने गरेकाले उच्च सतर्कता बढाइएको हो । चितवन, नवलपरासी, पर्सा जिल्लामा फैलिएको निकुञ्ज भारतको सीमामा जोडिएको छ । विश्वमा नै दुर्लभ एकसिंगे गैंडाको मुख्य वासस्थान चितवन निकुञ्ज भएकाले यहाँको सुरक्षा व्यवस्थालाई कडाइ बनाइएको पन्तले बताउनुभयो ।
वर्षातामा निकुञ्जको भएर वग्ने राप्ती, सिमावर्ती क्षेत्र भएर वग्ने नारायणी नदीले असर पार्ने गर्दछ । यही नदीले नै मुख्य गरी ठुलो असर पार्दै आएको थियो । गत वर्ष र अघिल्लो वर्षमा वाढीको कारण गैंडा वगाएर भारत पुगेको थियो । गत वर्षपनि वाढीले केही वन्यजन्तु वगाएको थियो प्रमुख पन्तले भन्नुभयो । यस वर्षको वाढीले अहिलेसम्म वन्यजन्तु वगाएर लगेको सूचना आइसकेको छैन । वाढीको प्रभावको विषयमा हामीले अहिलेपनि अध्ययन गरिराखेको प्रमुख पन्तले जानकारी दिनुभयो ।
मुख्यगरी एकसिंगे गैंडा, वाघ, हात्ती, गोहीलगायतका जनवारको वास स्थान चितवन निकुञ्ज हो । यहाँ नेपालमा पाइने लोपउन्मुख जनावर मध्य सवैभन्दा धेरै यही निकुञ्जमा पाइन्छ । निकुञ्जको पश्चिमी क्षेत्र नवलपरासीबाट दक्षिण पश्चिम चितवन तर्फ पर्ने स्थानमा बाटेबाघ र गैंडाको मुख्य वासस्थान रहेको छ । केही वर्ष अगाडि मात्र निकुञ्जको पूर्वी क्षेत्र सौराहा, मकवानपुरको सुनुचारी दक्षिण, कुमरोजलगायतको स्थानमा बाक्लो गरी गैंडा र बाघ पाइदै आएको थियो । पछिल्ला केही वर्ष यता निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै जनावर रहेको छ । आफूलाई अनुकुल हुने स्थानमा जनावरको वसाइ सर्ने गरेको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिनुभयो ।
पूर्वी क्षेत्रमा कम गैंडा भएपछि आन्तरिक रुपमा स्थानान्तरणको कार्य समृत गत वर्ष गरिएको उहाल जानकारी दिनुभयो । अहिले पश्चिम क्षेत्रमा रहेको वन्यजन्तुको वास स्थान वाढीले धेरै प्रभाव पार्ने जोखिम रहेको छ । तर यस वर्ष ठुलो क्षती नभएको सूचना अधिकारी थापा मगरले बताउनुभयो ।


