नौ वर्षदेखि माडीमा विद्युतको समस्या उस्तै

चितवन ।
सुगम जिल्ला भएर सेवा सुविधाले पछि परेको चितवनको माडी नगरपालिकाले नौ वर्षदेखि विद्युतको समस्या भोग्दै आएको छ ।
अन्य स्थानमा सामान्य बनेको विद्युत सेवा माडी वासीका लागि सधै कष्टकर हुदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जले चारै तर्फबाट घेरेको माडी नगरपालिका सहज सवारी साधन र विद्युतको सेवा पाउनबाट बन्चित हुदै आएको छ । २०७३ मङ्सिर ४ गतेबाट भूमिगत विद्युत मार्फत सेवा लिदै आएका नगरवासीले हरेक वर्ष केही दिन अन्धकारमा वस्न बाध्य हुने गरेका छन् ।
शनिबार आएको वर्षाको कारण निकुञ्ज भित्र रहेको भूमिगत तारमा समस्या आएपछि माडी नगरवासी अन्धकारमा वस्न बाध्य भएका छन् । पश्चिम चितवनको चनौली विद्युत वितरण केन्द्र मार्फत निकुञ्जबाट भूमिगत तार लगिएको छ । नौ किलोमिटर रहेको निकुञ्ज भित्र तार चुडिएको थियो । निकुञ्ज भित्र कहाँ समस्या आएको पत्ता लगाउन सकिएको थिएन ।
विद्युत वितरण कार्यालय चनौलीका प्रमुख राजकुमार श्रेष्ठले भन्नुभयो “ निकुञ्ज भित्र तारमा समस्या आयो, कहाँ आयो पत्ता लगाउन तीन दिन लागेको छ, आज पत्ता लाग्यो अव हामी बनाउछौं ।” लगातार वर्षा भएपछि भूमिगत तारमा समस्या आयो उहाले भन्नुभयो “यो समस्या अहिले मात्र होइन भूमिगत तार लगेको समयदेखि हो ।”
जङ्गल भित्र दुइ स्थानमा समस्या आएको छ । तार चुडिएपछि विद्युत सप्लाइ भएको छैन । विद्युत सेवा अवरुद्ध भएपछि नगरवासी अन्धकारमा वस्न बाध्य भएको उहाले बताउनुभयो । मर्मतको काम भइराखेकाले सोमबार रातिसम्म भएपनि विद्युत सेवा सञ्चालन गर्ने तयारी भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
माडी नगरपालिका प्रमुख ताराकुमारीकाजी महतोले नौ वर्षदेखि विद्युतको समस्या समाधान नहुदा माडी वासीले दुःख पाएको बताउनुभयो । “निकुञ्जबाट भूमिगत तार विछ्याएर ल्याएको समयदेखि समस्या भएको छ” उहाले भन्नुभयो “यो समस्या समाधानको लागि प्रधानमन्त्री, जनप्रतिनिधि सवैलाई राखेका छौ तर अहिलेसम्म समाधान भएको छैन ।” उहाँका अनुसार पानी पर्ने वितिकै निकुञ्ज भित्र समस्या आउने गरेको छ । सिंङगो नगरपालिका अन्धकारमा वस्नु परेको छ । असार साउनमा पनि यस्तै समस्या आएको थियो । विग्रेको स्थानमा मर्मत गरेर समाधान हुन्छ दीर्घकालिन समाधानको लागि पहल गर्दा अहिलेसम्म भएको छैन प्रमुख महतोले भन्नुभयो । गत वर्ष असोजमा आएको वाढीका कारण एकहप्ता विद्युत सप्लाई बन्द भएको थियो ।
तीन दिनदेखि विद्युत वन्द हुदा टेलिकमको टावरमा चार्ज हुन पाएको छैन । चार्ज नभएपछि मोवाइल नेटवर्क वन्द भएको छ । बैंक, सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान लगायत सवै क्षेत्र प्रभावित भएको छ ।

नयाँ तार विछ्याउने काम अधुरो

भूमिगत पुरानो तारमा समस्या आएपछि थप अर्को तार बिछ्याउने तयारीले पूर्णता पाउन सकेको छैन । नौ वर्ष अगाडि विछ्याइएको तारमा धेरै पटक समस्या आएपछि मर्मत गर्न जटिल हुदै आएको छ । वर्षातको समयमा खपतको भार धेरै हुने, अन्य समयमा पनि भूमिगत तारमा समस्या आउदा काम गर्न समस्या हुदै आएको विद्युत वितरण कार्यालय चनौलीका प्रमुख राजकुमार श्रेष्ठ बताउनुहुन्छ ।
सिङ्गल सर्किट भएको भूमिगत तारमा समस्या आएपछि निकुञ्ज भित्र अर्को तार विछ्याएर लैजानको लागि वातावरण प्रभाव मूल्याङकलन (इआइए) गरी निर्माणको प्रकृया अगाडि बढाउन धेरै समस्या हुदै आएको थियो । इआइएको लागि सर्वे, त्यसको प्रतिवेदन र अनुमती लिनकै लागि तीन वर्ष लागेको छ । विश्व सम्पदा सूचिमा सूचिकृत चितवन निकुञ्ज भित्र सामान्य विकास निर्माणको काम गर्नको लागि कठिन हुदै आएको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौडा डिभिजन कार्यालयका प्रमुख जीतेन्द्रकुमार झाले विभागबाट काम गर्न अनुमती दिएपनि अन्य प्रकृया पूरा गर्न समय लाग्ने भएकाले काम सुरु गर्न नसकिएको बताउनुभयो । निकुञ्ज, संरक्षण क्षेत्रका सस्था, व्यक्ति, नगरपालिकाका प्रतिनिधि लगायत संग छलफल गरेर मात्र ठेक्काको प्रकृृया अगाडि वढाउने तयारी भएको उहाले जानकारी दिनुभयो ।
“सिङगल सर्किटको पुरानो मोडलको तार भएको कारण समस्या आउने गरेको छ” उहाले भन्नुभयो “अब राख्ने नयाँ तारमा कम समस्या आउने भएकाले यो स्थायी समाधानको उपाय हुनेछ ।” निर्माणपछि एउटा तारमा समस्या आए अर्को तारबाट विद्युत जोड्न सकिन्छ चनौली वितरण केन्द्रका प्रमुख श्रेष्ठले भन्नुभयो । माडीको विद्युतको समस्या समाधानको लागि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरवहादुर देउवा, केपी शर्मा ओली समक्ष चितवनका जनप्रतिनिधिले ज्ञापनपत्र वुझाएर दवाव दिदै आएका थिए । भूमिगत तार अर्को विछ्याउन सरकारका सम्वन्धीत मन्त्रालयले वन मन्त्रालयले अनुमती दिएपछि सरोकारवाला बिच छलफल गरेर निर्माण प्रकृया अगाडि वढ्ने भएको हो ।

शेयर गरौ

ताजा अपडेट