चितवन ।
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोला पहिरो पन्छाएर सवारी साधन सञ्चालनमा ल्याएको छ ।
शनिबार साँझ ६ बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनले असुरक्षित हुने भएको भन्दै सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । आइतबार विहानदेखि पहिरो पन्छाउने काम गरेको थियो । पहिरो पन्छाएपछि विहान ८ बजेबाट सवारी साधन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी गाणेश अर्यालले जानकारी दिनुभयो ।
“हामीले औपचारिक रुपमा सवारी साधन सञ्चालनमा ल्याएका छैनौ ” उहाले भन्नुभयो “ रोकिएका र आपतकालिन सवारी साधन मात्र सञ्चालन गरेका छौ ।” अहिले नारायणगढ मुग्लिन सवारी साधन सञ्चालनमा समस्या छैन प्रजिअ अर्यालले भन्नुभयो ।
अर्यालका अनुसार मुग्लिनदेखि काठमाडौं जाने बाटोमा पहिरो खसेकाले खुलाउने काम भइराखेको छ । मुग्लिनदेखि मलेखु र मलेखुदेखि नागढुंगासम्मको विभिन्न स्थानमा पहिरो गएकाले पन्छाउने काम भइराखेको प्रजिअ अर्यालले बताउनुभयो । पूर्ण रुपमा सडक सञ्चालन नभएसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने उहाले बताउनुभयो । अत्यावश्यकका सवारी साधन, रोकिएका साधनलाई मात्र सञ्चालन गर्न दिएको अर्यालले बताउनुभयो ।
चितवनमा रोकिएका सवारी साधनलाई पूर्व र पश्चिम जान दिएको छ । आइतबार विहानबाट सञ्चालन गर्न दिएको अर्यालले बताउनुभयो । पूर्वमा कोसी वारीसम्मका सवारी साधन सञ्चालनमा रहेको उहाँको भनाइ छ । अर्यालका अनुसार जिल्लामा अहिलेसम्म कुनैपनि मानवीय क्षती नभएको जानकारी दिनुभयो । सवारी साधन रोकेर सम्भावित जोखिमलाइ टार्न सकिएको उहाले बताउनुभयो ।


