दमौली, २८ फागुन :
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरका रिमबहादुर गुरुङले बारीबाटै गोलभेँडा बिक्री गर्न थाल्नुभएको छ । विदेशबाट फर्किएपछि गाउँमा कुन पेशा गर्ने भन्ने अन्योलमा रहनुभएका उहाँ अहिले बारीबाटै गोलभेँडा बिक्री हुन थालेपछि उत्साहित हुनुभएको छ ।
विदेशबाट फर्किएपछि धेरै लगानी पनि नचाहिने र धेरै जोखिम पनि नहुने गोलभेँडा खेती गर्ने सोचका साथ केही बोट मात्र गोलभेँडा खेती गर्नुभएका उहाँ अहिले बारीबाटै गोलभेँडा खोसाखोस हुन थालेपछि खेती विस्तारको अभियानमा लाग्नुभएको छ । उहाँले भन्नुभयो, “शुरुआती चरण भएकाले धेरै गोलभेँडा लगाएको थिइनँ, अहिले गाउँमै गोलभेँडाको माग बढी भएपछि गोलभँेडा खेती विस्तार गर्ने तयारी गरेको छु ।”
उहाँले बारीबाटै प्रतिकिलो रु ५० का दरले २०० किलोभन्दा बढी गोलभेँडा बिक्री भएको बताउनुभयो । “बारीमा गोलभेँडा पाक्न नपाउँदै हरेक दिन गाउँले किन्न आइहाल्छन् । गाउँलेलाई गोलभेँडा पु¥याउन पनि हम्मेहम्मे परिरहेको छ”, गुरुङले भन्नुभयो । उहाँले यस वर्ष सिर्जनशील जातको गोलभेँडा २०० बोट मात्र लगाउनुभएको थियो । पहिलोपटकको खेती भएकाले परीक्षणको लागि थोरै मात्र गोलभँेडा लगाएको उहाँले बताउनुभयो । “बजार र आम्दानीको सुनिश्चितता नभएकाले त्यति धेरै गोलभेँडा लगाइनँ, माग उच्च भयो, अब विस्तार गर्दैछु”, गुरुङले भन्नुभयो ।
गाउँमै गोलभँेडा खोसाखोस हुन थालेपछि उत्साहित हुनुभएका गुरुङले अर्काे याममा गोलभँेडा खेतीलाई थप विस्तार गर्ने योजना बनाउनुभएको छ । उहाँ चारपटक वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देश पुग्नुभएको थियो । विदेशमा गएर केही उपलब्धि नभएपछि गाउँमै परिश्रम गर्ने उद्देश्यसहित फर्किनुभएको हो । गरुङले बाख्रापालनसमेत थाल्नु भएको छ । विदेश जानुभन्दा गाउँमै सानो लगानी र कम जोखिममा तरकारी खेती र बाख्रापालन गर्नु उत्तम भएको उहाँको भनाइ छ ।
गुरुङले स्थानीय जातका २० बाख्रा पाल्नुभएको छ । शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङले गाउँमा उद्यमशील बन्न चाहने युवालाई वडा कार्यालयले सहयोग गर्ने बताउनुभयो । सबै युवा गुरुङले जस्तै सकारात्मक सोच राखेर गाउँमा नै उत्पादनमूलक काममा लाग्ने हो भने देश समृद्ध बन्न धेरै समय नलाग्ने उहाँले बताउनुभयो । (रासस)