मुग्लिन-नारायणगढ सडकखण्ड खुल्ने अनिश्चित

चितवन । मङ्गलबार दिउँसो ठुलो पहिरो गएपछि मुग्लिन-नारायणगढ सडकखण्ड कहिले सञ्चालनमा आउने भन्ने अनुमान गर्न सकिएको छैन ।

सडकखण्डको तुइनखोलमा पहाडको एउटा ठुलै भाग सडकमा खसेपछि मङ्गलबार दिउँसो ३ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले १४ हजार घनमिटर भन्दा धेरै सामग्री थुपारेको कारण पन्छाउन कति समय लाग्ने अनुमान गर्न नसकिएको बताउनुभयो ।

“यस सडकखण्डमा अहिलेसम्मकै ठुलो पहिरो आएको छ,” उहाँले भन्नुभयो, “पन्छाउने कामलाई निरन्तरता दिएका छौं तर कती समयमा सकिन्छ भन्न सकिँदैन ।” पहिरो आए लगतै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख गोविन्द पुरी सहितको टोलीले मुग्लिन जादै गरेका यात्रुलाई फर्काएर नारायणगढ ल्याउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “पहिरोले यात्रु रोकिएपछि प्रहरीको वसबाट फर्काएर नारायणगढ ल्याएका छौं । छिटो यातायात सञ्चालनको लागि प्रयत्न छौं तर कहिले खुल्छ भन्न सकिने अवस्था छैन ।” दिउँसो ४ बजेदेखि पहिरो स्थलमा खटिनु भएका अर्याल सहितको सुरक्षा प्रमुखको टोली राति १ बजे फर्केको थियो । वुधबार विहान फेरी घटना स्थल पुगेर राजमार्ग खुलाउने प्रयासमा लागेको अर्यालले जानकारी दिनुभयो ।

अझैपछि पहिरो गएको स्थलमा माथिबाट स-साना पहिरो आइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । माथिबाट थप ठुलो पहिरोको सम्भावना कम रहेपछि झर्न बाँकी रहेका ढुङ्गाहरू पूर्णरुपमा तल नझरिसकेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी आचार्यले बताउनुभयो ।

अझै साना तथा मझौला स्तरका ढुङ्गाहरू झर्न सक्ने सम्भावना रहेको छ । कार्यालयका उपकरणहरु आफू सुरक्षित रहँदै निरन्तर रुपमा पहिरो सफा गर्ने कार्यमा लागि रहेको जानकारी दिनुभयो । पहिरो पन्छ्याउन समय लाग्ने हुँदा वैकल्पिक राजमार्ग प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गरी तत्काल मुग्लिनको बाटो सञ्चालन गर्न नसकिने भएकाले राजधानी आउन जान अन्य बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

राजधानी काठमाडाैंबाट तराइ आएका सवारीसाधन मुग्लिनमा रोकिएका छन् । बाटो खुल्ने अनिश्चित भएपछि यात्रुको विचल्ली भएको छ ।

 

शेयर गरौ

ताजा अपडेट