कांग्रेस विशेष महाधिवेशन माग गर्दै गगन-शेखर समूह : सय बढीले सुरु गरे हस्ताक्षर अभियान

काठमाण्डौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अध्ययन गर्दै महामन्त्री गगनकुमार थापा र डा शेखर कोइराला समूहका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका हुन्।

सोमबार काठमाडौँमा भएको एउटा बैठकपछि सयभन्दा धेरै जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरी अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

‘नेपाली कांग्रेसको स्थापनाकालदेखि नै पार्टीसामु धेरै संकटहरु उत्पन्न भए। हामीले ती सबै संकट र चुनौतीहरुसँग मुकाविला गर्याैँ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रमाथिका हरेक संकटको सामना गर्दै पार्टीमाथिका आक्रमणलाई परास्त गर्दै आएका छौँ,’ हस्ताक्षर पत्रमा उनीहरुले भनेका छन्, ‘तसर्थ यतिबेला उत्पन्न संकटलाई कसरी सामना गर्ने र भविष्यको यात्रा तय गर्ने भन्ने चुनौती हाम्रो अगाडि आइपरेको छ।’

आज जेनजीले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउनुमा पार्टीले लिएको नीति, लिएका निर्णयहरु, चालिएका कदमहरु र कामकारबाही जिम्मेवार भएको ठहर हस्ताक्षरकर्ताहरुको छ।

‘पार्टीसामु गम्भीर प्रश्नहरु उठेका छन्। यसको सामना गर्नुपर्ने बाध्यता हाम्रा लागि निकै कष्टकर तर पन्छाउनै नसकिने प्रश्नहरु पहाड बनेर खडा भएका छन्,’ उनीहरुले हस्ताक्षर पत्रमा थप भनेका छन्, ‘सरकार र पार्टी संचालनका विषयमा हामीले धेरैपटक आलोचनात्मक र सिर्जनात्मक सुझाव दिएकै हो। साथै भविष्यमा उत्पन्न हुन सक्ने संकटका बारेमा पनि अवगत गराएकै हो। त्थापि न त सरकार, नत पार्टीले नै सुनुवाइ गर्न सक्यो। न त आफूलाई सच्याउन तयार भयो। नेतृत्वका कार्यशैलीका बारेमा बारम्बार प्रश्न उठाउने पार्टीका साथीहरुलाई किनारामा धकेल्ने र विभेदपूर्ण व्यवहारसमेत भएको कुरा दुःख साथ स्मरण गराउन चाहन्छौँ।’

उनीहरुले विगतका गल्तीहरु माफी माग्दै सुधारिएको भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्काे उपयुक्त थलो वा माध्यम नभएको पनि भनेका छन्। ‘नेतृत्वमाथि उठेका विभिन्न प्रश्नहरु निरुपण गर्दै आगामी बाटो तय गर्न विशेष महाधिवेशनको आवश्यकता महसुस गरी हामी महाधिवेशन प्रतिनिधिहरु नेपाली कांग्रेसका सम्पूर्ण साथीहरुलाई यस अभियानमा जोडिन आग्रह गर्दछौँ,’ उनीहरुले महाधिवेशन प्रतिनिधिहिरुलाई आह्वान गर्दै भनेका छन्।

वर्तमान परिस्थितिको गम्भीर्यता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकारसमेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन् गर्ने अवस्था कमजोर हुँदै गएपछि विशेष महाधिवेशनको माग गरिएको नेताहरुले बताएका छन्।  ‘…इतिहासको यस संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकालेर समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष  महाधिवेशनको प्रक्रियामा सामेल हुन आग्रह गर्दछौँ’ उनीहरुले थप भनेका छन्।

कांग्रेसले १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधिको रहेको उल्लेख गरेको छ। पार्टीको विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने जनाएको छ।

हस्ताक्षर गर्नेमा शेखर कोइराला समूहमा खुल्दै आएका गुरुराज घिमिरे, देवराज चालिसेसहितका नेताहरु छन्।

यता नेताहरु हस्ताक्षर अभियान सुरु गरिरहँदा सभापति देउवा  र उनीनिकटहरु भने पदावधि १ वर्ष थप्ने तयारीमा जुटेका छन्। केन्द्रीय समितिमा स्पष्ट बहुमत रहेका देउवाले आगामी मंसिरमै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने भए पनि यो नहुने पक्कापक्की भइसक्यो ।

शेयर गरौ

ताजा अपडेट