चितवन ।
पहिरोको कारण तीन दिनदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्ड आइतबार अपरान्ह ४ः१० बाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
शुक्रबार साँझ ७ बजे पहिरो आएर अवरुद्ध भएको सडक ४६ घण्टापछि पन्छाएर सञ्चालनमा आएको हो । दुवैतर्फबाट डोजरले पहिरो पन्छाएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।
मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबार साँझ छ बजे पहिरो आएको थियो । त्यो पहिरो पन्छाएर यातायात सञ्चालनको लागि प्रयास भइराख्दा ७ बजे फेरि ठूलो पहिरो झरेपछि त्यस रात पन्छाउने काम रोकिएको थियो । शनिबार विहान ४ बजेबाट नै पन्छाउने प्रयास गर्दा विहान ७ बजे पुन ठूलो पहिरो आएपछि शनिबार दिनभरको प्रयासले पूर्ण रुप लिन नसकेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो “ हामीले दुवै तर्फबाट पन्छाउने प्रयास ग¥यौ तर सकिएन । पानी पर्ने, फेरि पहिरो झर्ने गर्दा समस्या आएर आइतबार सकिएन ।” आइतबार विहानदेखि पहिरो पन्छाउने प्रयास गरेपछि अपरान्ह ४ः१० बाट एकतर्फी रुपमा सवारी साधन सञ्चालन गर्न सकिएको उहाले बताउनुभयो । दुवै तर्फबाट चारवटा डोजर परिचालन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, विपत् कार्यालय कुरिनटार, धादिङका प्रहरी, डिभिजन सडक कार्यालय भरतपुर, मुग्लिन नागढुङगा सडक योजना कार्यालयलगायतको प्रयासले पहिरो पन्छाएको हो ।
रोएिका सवारी साधन पास गरेपछि थप पहिरो पन्छाएर दुवै तर्फ सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । मोटरसाइल, एम्वुलेन्स, साना सवारी साधन पहिलो चरणमा सञ्चालनमा ल्याइएको थियो । विस्तारै रोएिका सवै साधन वारपार गराइएको थियो ।
बाटो अवरुद्ध भएपछि चितवनबाट काठमाडौं तर्फ जाने सवारी साधन नारायणगढसम्म लाइन लागेको थियो । त्यस्तै गरी राजधानीबाट आउने सवारी साधन मलेखुसम्म लाम लागेको प्रहरीले जानकारी दिएको छ । तुइनखोलामा आएको पहिरोका कारण रोकिएको सवारीसाधनको प्रभाव धादिङको मलेखुसम्म परेको थियो । यस खण्डमा समेत पहिरो आएर सडक अवरुद्ध भएको मुग्लिन नागढुंगा सडक योजना कार्यालय पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रले जानकारी दिनुभयो । यस खण्डको पहिरो आइतबार पन्छाएको छ ।
विरामी यात्रुको स्वास्थ्य परिक्षण र खाना
सडक अवरुद्ध भएको कारण तीन दिनदेखि अलपत्र परेका यात्रु विरामी पर्न थालेपछि स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गाणेश अर्याल सहितको सक्रियतामा सडक खण्डको चार स्थानमा स्वास्थ्य क्याम्प राखेर स्वास्थ्य परीक्षण गरिएको हो ।
प्रजिअ अर्यालले भन्नुभयो “अलपत्र यात्रु विरामी पर्न थालेपछि यहाँका अस्पतालको सहयोगमा स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेका छौ ।” नारायणगढको आपटारीदेखि पहिरो गएको स्थान नजिकसम्म चार स्थानमा क्याम्प राखिएको छ उहाले भन्नुभयो । यात्रुहरु धेरै विरामी पर्न थालेपछि चितवन मेडिकल कलेज, भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, केन्ट्रल अस्पताल, जनस्वास्थ्य कार्यालयको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
निःशुल्क खाना
अलपत्र यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनले निःशुल्क खाना वितरण गरेको थियो । मुग्लिन नारायणगढ सडकखण्डको विभिन्न स्थानमा अलपत्र परेका यात्रु, सवारी चालकलाई प्रशासन कार्यालय र सहयोगी सामाजिक सस्थाले निःशुल्क खाना र खाजा वितरण गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । त्यस्तै गरी मुग्लिनका सामाजिक व्यक्तिले खाना पकाएर यात्रुलाई शनिबार साँझ र आइतबार खाना खुवाएका थिए ।


