चितवन ।
जिल्ला प्रशासन कार्यालय चितवनले तत्काल राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा दिन नसक्ने जानकारी दिएको छ ।
सोमबार कार्यालयमा पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कार्यालयबाट राहदानी र राष्ट्रिय परिचयपत्र बाहेकका अन्य सेवा भने सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
अधिकतम सेवा दिने गरी कार्यालय सञ्चालनमा भएको छ । जेनजेडले गरेको आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीले क्षती पारेपछि आइतबारबाट सेवा सञ्चालन गरेको छ । कार्यालयले नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, म्याद थपलगायत शान्ति सुरक्षाको प्रत्याभूती गराउन सक्ने जानकारी दिनुभयो ।
कार्यालयमा भएको कागजी अभिलेख सुन्यमा रहेकाले डिजिटल अभिलेखबाट कार्यालयको काम हुने उहाले बताउनुभयो । प्रजिअ अर्यालले भन्नुभयो “कागजी अभिलेखमा हामी सुन्यमा छौ, सीसीआइ सिस्टमबाट हेरेर सेवा दिन सकिन्छ, सिस्टमबाट हेरेर नागरिकले पाउने सेवामा कुनै रोकावट हुने छैन ।”
आन्दोलनका क्रममा जिल्लाका ७९ वटा सरकारी कार्यालयमा क्षती पुगेको छ । ती मध्य १९ वटा कार्यालयको अभिलेख सुन्यमा पुगेको छ । ती कार्यालयले पनि छिटो सेवा सञ्चालन गर्नको लागि पहल भइराखेको छ ।


