चितवनका सरकारी कार्यालय तहसनहस

 

चितवन ।
आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयसहित दर्जनबढी सरकारी कार्यालयमा आगजनी गरी तहसनहस पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विज्ञप्ति प्रकाशित गरी कर्फू जारी गर्नु भएको थियो । तर कर्फुको अवज्ञा गर्दै आन्दोलनकारीले प्रशासन कार्यालय, मालपोत कार्यालय, रत्ननगर नगरपालिका कार्यालय, खैरहनी नगरपालिका, राप्ती नगरपालिका लगायत दर्जन भन्दा धेरै सरकारी कार्यालयमा आगजनी गरी सम्पूर्ण कागजपत्र जलाएका छन् ।
प्रदर्शनकारीले मंगलबार विहान जिल्ला प्रशासन कार्यालय अगाडिबाट गरेको आन्दोलन प्रहरीको नियन्त्रण बाहिर गएको थियो । नेपाली सेना समेत सडकमा आएर घटनाको अध्ययन गरेको थियो । तर आन्दोलनले उग्ररुप लिएर नियन्त्रण गर्न नसकिने भएपछि आ आफ्नो कार्यालयमा सुरक्षार्थ लागेका थिए । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयको कागजपत्र बाहिर निकालेर जलाएका थिए । यस्तै गरी जिल्लाका स्थानीय तहहरु, सरकारी कार्यालय निशानामा परेको थियो ।
भर्खरै सरुवा भइ चितवन आउनु भएको प्रमुख जिल्ला अधिकारी अर्याल आफै नेपाली सेनाको सुरक्षामा कार्यालयको पछाडिको गेटबाट बाहिरीनु भएको थियो । जिल्लामा सुरक्षा दिन प्रहरीले नसकेपछि आन्दोलनकारीले सरकारी कार्यालय ध्वस्त पारेका छन् । जिल्लामा के कती नोक्सान भयो भन्ने विवरण लिन सक्ने अवस्था रहेको छैन ।
प्रहरी, प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुखहरु आफ्नो ज्यानको सुरक्षामा लाग्नु भएको छ । नेकपा एमाले चितवनको कार्यालय आन्दोलनकारीले जलाएर नष्ट गरेका छन् । कार्यालयमा भएको कागजपत्र लगायत सवै जलेका छन् ।
आन्दोलकारीले निजी क्षेत्रका व्यापारिक केन्द्रपनि जलाएका छन् । भरतपुरको भाटभटेनी सुपर स्टोर जलाएर खरानी बनाएका छन् । नेताको घर पनि निशाना वनेको छ ।

शेयर गरौ

ताजा अपडेट