चितवन निकुञ्जको दुइवटा हात्ती कतार पठाइदै

 

चितवन ।
चितवन राष्ट्रिय निकुञ्जको दुइ वटा हात्ती मङ्सिर अगाडिनै कता पठाउने तयारी गरिएको छ ।
सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिए हुर्केका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले नेपाल सरकारले उपहार स्वरुप कतार सरकारलाई पठाउने भनी निर्णय गरिसकेकाले लैजाने तयारी भएको जानकारी दिनुभयो । हात्ती लैजाने तयारीका विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सवै तयारी गरेको उहाले बताउनुभयो ।
निकुञ्जका अनुसार सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसादलाई लैजाने तयारी सुरु गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यले मङ्सिर महिना भित्र कतार पठाउने तयारी गरिराखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कागजी प्रकृया पूरा हुदैछ । त्यती वेलासम्म खोर निर्माण गर्नेछौ । अहिले वर्षात भएको कारण लैजान सक्दैनौ । दसैं तिहार पछि लैजाने गरी तयारी भएको छ । ”
उहाँका अनुसार हात्ती लैजाने सम्पूर्ण खर्च कतार सरकारले व्यहोर्ने छ । गौतमवुद्ध अन्तराष्ट्रिय विमान स्थल भैरहवाबाट विशेष चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने छ । कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । खोर निर्माणपछि ट्रकमा राखेर भैरहवा विमान स्थलमा लैजाने छ । कतारबाट आउने कार्गो विमानबाट दुइवटा हात्तीलाई लैजाने छ ।
नेपालमा भन्दा कतारमा गर्मी धेरै हुने भएकाले त्यहाँ वातावरण अनुकुलन बनाएर राख्ने व्यवस्ता कतार सरकारले गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा आचार्यले बताउनुभयो । खगेन्द्र र रुद्रको बाबु जङगली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिनुभयो । खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पूजा कली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङगली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् ।
यस अगाडि नेपालले चीन सरकारलाई उपहार स्वरुप दिएको दुइ वटा गैंडा मध्य एउटाको मृत्यु भएको छ । मृत्यु भएपछि अर्को एउटा गैंडा नेपालले पुन पठाउनु पर्ने भएको विभागले जानकारी दिएको छ । अर्को पठाउने विषयमा सरकारले अनुमती दिएपछि मात्र पठाउने तयारी गर्ने आचार्यले जानकारी दिनुभयो ।
विभिन्न मित्रराष्ट्रलाई एक सिंगे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ ।

शेयर गरौ

ताजा अपडेट