ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने दाबी गरेका छन् ।
गोदावरी नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भने, ‘देशमा ओलीको विकल्प छैन । संसदमा दोस्रो ठूलो पार्टी भए पनि जनताको मनमा एमाले नै पहिलो पार्टी हो ।’ ७० वर्षे उमेर सीमा बढाइएको ओलीका लागि मात्र नभएको भन्दै उनले नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोणकै कारण ओली नै राष्ट्रको विकल्प रहेको दोहोर्याए ।
भारतको नाकाबन्दी ओलीकै नेतृत्वमा डटेर सामना गरिएको उल्लेख गर्दै उनले थपे, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा बदल्ने सामर्थ्य ओलीबाहेक कसैमा छैन । ढिलोचाँडो छिमेकीले पनि यस विषयमा सुन्नै पर्छ ।’ विद्या भण्डारीबारे पोखरेलले भने, ‘संवैधानिक संसदीय व्यवस्थामा राष्ट्रपतिको छुट्टै स्थान छ । पूर्वराष्ट्रपति सम्मानित र मर्यादित रहनु आवश्यक छ । पार्टीले आफ्नो नेताको सम्मानमा कुनै कसर बाँकी राखेको छैन ।’
स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज राजन भट्टराईले पार्टीभित्र निराश हुने अवस्था नरहेको बताए । ‘२०७९ को तुलनामा अहिलेको परिवेश अनुकूल हुँदै गएको छ । व्यक्तिगत दम्भ र जुँगाको लडाइँ त्यागेर फराकिलो छाती बनाएर पार्टी एक भए विजय सुनिश्चित हुनेछ,’ भट्टराईले भने ।
नगर कमिटी अध्यक्ष विक्रम घिमिरेले विधान महाधिवेशन गोदावरीमै हुनु नगरवासीका लागि सुखद भएको बताए । कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य बाबुराम थापा, बागमतीका कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल, सांसद प्रेमबहादुर मर्हजन, ललितपुर-१ इन्चार्ज रुपनारायण श्रेष्ठ, प्रदेश सांसद प्रेमभक्त मर्हजन र रघुनाथ महर्जन, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यलगायत थिए ।


