चितवन ।
जिल्लामा हैजाको उच्च जोखिम भएकाले उच्च सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालय चितवनले अनुरोध गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै जिल्लामा हैजाको उच्च जोखिम रहेकाले सर्वसाधारणमा सतकर्ता अपनाउन अनुरोध गरेको हो । पर्साको वीरगञ्जमा हैजाको संक्रमण वढेकाले उपचारको लागि चितवन आउने भएकाले जोखिम रहेको जनाइएको छ ।
उपचारको लागि बिरामीको आवागमन हुने र जिल्लामा पनि संक्रमण फैलिने जोखिम रहेकाले सतकर्ता अपनाउन अनुरोध गरिएको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले बताउनुभयो । वीरगञ्जमा हैजाले महामारीको रुपमा लिएको छ । अहिलेसम्म यस रोगबाट विरगञ्जमा २ जनाको मृत्यु भइसकेको छ भने सयौँ बिरामी परेका छन् ।
हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णय समेत गरेको छ । गर्मी समय, दुषितपानी, फोहोर र मानिसहरुको बढी आवतजावत हुने ठाउँमा हैजाको प्रकोप हुने भएकाले चितवनबासीलाई उच्च सतकर्ता अपनाउन भनेका छौ कार्यालय प्रमुख रुपाखेतीले भन्नुभयो ।
हैजा एक संक्रमण रोग हो । जुन प्रायः दुषित पानी, फोहोर वातावरण र अस्वच्छ खानपानका कारण फैलिन्छ । उमालेको वा फिल्टर गरिएको मात्र सुरक्षित पानी पिउन र राम्ररी पकाएर मात्र खाना खाएमा बच्न सकिने प्रमुख रुपाखेतीले भन्नुभयो ।
कार्यालयले बाँकी खाना राम्रोसँग ढाकेर राख्ने, पुनः तताएर मात्र प्रयोग गर्ने, साबुनपानीले हात राम्ररी धोएरमात्र खाने, खुल्ला ठाउँमा दिसा पिसाव नगर्ने, बाटो छेउमा खुलेआम राखिएका तथा सरसर्ती पकाएका खाद्यपदार्थ सेवन नगर्न अनुरोध गरेको छ । हैजाका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
यस्तै गरी भरतपुर अस्पतालले पनि सतकर्ता अपनाउन अनुरोध गरेको छ । यस रोग छिटो फैलने भएकाले घर, छिमेक टोलमा सरसफाईमा ध्यान दिन तथा पानीको मुहान र स्रोतमा ध्यान दिन अस्पतालले अनुरोध गरेको हो । तारन्तार पातलो दिशा हुने, वान्ता हुने, शरीर कमजोर भएमा स्वास्थ्य संस्थामा जान समेत अनुरोध गरेको छ । चितवनमा हैजा फैलिन नदिनको लागि स्वास्थ्य सस्था स्थानीय पालिकाले सतर्कता अपनाएका छन् ।


