बखान उपन्यासको गृहविमोचन

 

चितवन, ।
पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को आइतबार पश्चिम चितवनको गुञ्जनगरमा विमोचन गरिएको छ ।
उपन्यासका मुख्य पात्र बखान सिंह गुरुङ्ले स्थापना गर्नु भएको बखान वहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा कृति बखानको बिमोचन गरिएको हो । बागमती प्रदेश सरकारकी सहकारी तथा गरिवि निवारण मन्त्री बिनु रायमाझी पौडेलले उपन्यासको बिमोचन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशकै पहिलो सहकारी स्थापना गर्नुभएका राजनैतिक र सामाजिक व्यक्तित्व वखान सिंह गुरुङ्लाई मुख्य पात्र बनाईएको उपन्यास सवैले अध्ययन गर्नु पर्ने बताउनुभयो । उपन्यासले जिल्लाको इतिहाससंगै सहरकारीको विषयमा समेत उल्लेख गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पराजुलीले लेख्नु भएको कृतिले बखानसिंहको योगदानलाई सजीव बनाएको बताउनुभयो । उहाँले भन्नुभयो “ओझेलमा परेका एक महत्वपूर्ण व्यक्तिलाई पराजुलीले उजागर गर्ने काम गर्नुभएको छ । यो धेरै राम्रो काम हो । इतिहासलाई भुल्दै जाने प्रवृतिलाई कृतिले स्मरण मात्रै होइन जीवित बनाएको छ ।”
बि. सं. २०३९ सालमा कानुन तथा न्याय र भूमिसुधार मन्त्री वन्नुभएका गुरुङका दुई छोरा शहीद हुनुहुन्छ । कार्यक्रममा गुरुङका नाती चन्द्रध्वज गुरुङ्ले बाजे बखान सिंह गुरुङको राजनैतिक यात्रा र परिवारले भोगेका पीडाका बारेमा जानकारी गराउनु भउको थियो । संस्थाका अध्यक्ष देवी थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा सहकारीका प्रमुख सल्लाहाकार एबं नेपाली काँग्रेस चितवनका पूर्व सभापति तोपमान सिंह गुरुङ, बखान सहकारीद्वारा संञ्चालीत संग्राहलयका संयोजक सोम भण्डारी, लगायतले बोल्नु भएको थियो । पुस्तकका लेखक पराजुलीले उपन्यास यथार्थ घटनामा आधारित भएपनि काल्पनिक जलप लगाईएको बताउनुभयो ।
उहाँका अनुसार नेपालको तराई क्षेत्रमा भएको बसाइँसराइ र बस्ती विकासको ऐतिहासिक पाटोलाई समेटेर लेखिएको यो बखान पुस्तकले चितवनको सामाजिक तथा राजनीतिक घटनाक्रमलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यसले वि. सं. २००७ देखि २०१० सालसम्मका मुख्य राजनीतिक घटनाक्रमलाई न्याय दिने प्रयास गरेको पराजुलीले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट