चितवन ।
डेंगु, स्क्रब टाइफस सङ्क्रमित बढ्न थालेपछि सचेतना अभियान सञ्चालन गरिएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनले जिल्लाका सातवटै पालिकामा सचेतना कार्यक्रम सहित लामखुट्टेको लार्भा खोज र नष्ट गरौं सञ्चालन गरेको छ । साउन १ गतेदेखि जिल्ला विभिन्न पालिकामा अभियान सञ्चालन गरेको जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्टोलर राम केसीले जानकारी दिनुभयो ।
“अहिले लामखुट्टेको सिजन भएकाले यो समय रोग फैलिन सक्ने अवस्था रहेको छ” उहाले भन्नुभयो “घरवरपर सरसफाई गर्न, पानी जम्ने ठाउ पुर्न, वट्टा भाडामा पानी जमाएर नराख्न लगायतको काम गरेका छौ ।” कार्यालयका अनुसार साउन १ गतेदेखि अहिलेसम्म एकहजार दुइसय २३ जनाको परीक्षण गरेकोमा ३४ जना डेंगु सङ्क्रमित भेटिएको छ । त्यस्तै गरी एकजहार ५० जनाको स्वास्थ्य परीक्षण भएकोमा ५६ जनामा स्क्रब टाइफस सङ्क्रमण भेटिएको छ ।
सातवटा पालिका मध्य सवैभन्दा धेरै रत्ननगर नगरपालिकामा संक्रमितको सङ्ख्या धेरै रहेको छ । स्क्रब टाइफस सङ्क्रमित १७ जना रहेको छ । त्यस्तै गरी डेंगु सङ्क्रमित आठ जना रहेको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर केसीले जानकारी दिनुभयो । ग्रामिण क्षेत्र भएको कारण यहाँ स्क्रब सङ्क्रमित धेरै भएको उहाले बताउनुभयो । त्यस्तै गरी दोस्रो धेरै सङ्क्रमित भएको पालिका खैरहनी रहेको छ । यहाँ १० जनामा स्क्रब र चार जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ ।

जिल्लाको इच्छाकामना गाउपालिका भरतपुर महानगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिका अन्य पालिकामा भन्दा थोरै सङक्रमण भएको स्थान हो । पुष्पाञ्जली अस्पताल भरतपुरका वरिष्ठ चिकित्सक भोजराज अधिकारीका अनुसार स्क्रब टाइफस “ओरिन्सिया सुसुमासी” जीवाणुका कारण एक प्रकारको सानो किराको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो जीवाणु मुसाको शरीरमा पाइन्छ । सङ्क्रमित किराले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्छ ।
यदि समयमा उपचार गरिएन भने यसले गम्भीर रूप लिन सक्ने अधिकारीले बताउनुभयो । स्क्रब टाइफसलाई बेवास्ता गरेमा मस्तिष्क, कलेजो, फोक्सो आदिको सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिस्फंक्सन) को अवस्था आउने गर्दछ ।
उच्च ज्वरो आउने, आँखा रातो हुने, धेरै टाउको दुख्ने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग देखिने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, खोकी वान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुने स्क्रब टाइफसका मुख्य लक्षणहरू हुन । समयमा उपचार नगरेमा मानिसको ज्यान समेत जान सक्ने चिकित्सकको भनाइ छ ।
किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गल जाँदा लामो बाहुला भएको कपडा लगाउने, जुत्ता लगाउने र शरीरको खुल्ला भागमा कीटनाशक मलमको प्रयोग गर्दा यसको टोकाइबाट बच्न सकिने डा. अधिकारीले बताउनुभयो । घर वरिपरिका खेतबारीमा घाँसहरू धेरै बढ्न नदिने र घर वरिपरिको वातावरण सफा राख्न, मुसा नियन्त्रण गर्न उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्ने उहाँको भनाइ छ ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले वर्षातको समय सरुवा रोगको संक्रमण हुने अवस्था भएकाले यसबाट बच्नको लागि सचेतनाका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो । “हामीले हरेक दिन कार्यक्रम सञ्चालन गर्दै आएका छा”ै उहाले भन्नुभयो “पालिका स्तरका स्वास्थ्य इकाइलाई सचेतना फैलाउन अनुरोध गरेका छौ ।” आवश्यक जनशक्ति चाहिएमा हामीले उपलब्ध गराउदै आएका छौ प्रमुख रुपाखेतीले भन्नुभयो ।
डेंगु र स्क्रबको सङ्क्रमण साउनदेखि कात्तिकसम्म अधिक हुने गरेको भेक्टर कन्ट्रोलर राम केसीले जानकारी दिनुभयो । यो समयमा पालिका, टोल, समुदाय सवैले सचेतनाका साथ काम गर्नु पर्ने उहाले बताउनुभयो ।


